टिकट नपाएर परीक्षार्थी सिमकोटमा अलपत्र

सिमकोट, २८ कात्तिक । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई जहाजको टिकट नपाउँदा मङ्सिरमा हुने परीक्षा दिन जाने विद्यार्थी सिमकोटमै अलपत्रमा परेका छन् । दसैँ र तिहार मनाउन घर आएका विद्यार्थी हवाई जहाजको टिकट नपाउँदा परीक्षा दिनका लागि जान नपाउँदा विमानस्थलमै रोकिएका छन् ।

उनीहरूमध्ये केहीले जहाज टिकटकै कारण आफ्नो पढाइ छुटेको गुनासो गरेका छन् । दैनिक दिन बिहान ४ देखि विमानस्थलमा रहेका निजी एयरलाइन्सहरूको कार्यालयमा धाउँदा टिकट नपाएको गुनासो आउने गरेको छ । दुई सातादेखि जहाज टिकट नपाएपछि मङ्सिर १ गते हुने परीक्षा छुट्ने खार्पुनाथ–१ का विष्णु रावलले गुनासो गरे । आफ्नो हातमा जिल्ला प्रशासन कार्यालयको सिफारिस र क्याम्पसको परीक्षा तालिका भएर पनि टिकट नपाएको उनको भनाइ थियोे ।

निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरेका कारण पहुँच नभएका सर्वसाधारण, बिरामी तथा विद्यार्थी छटपटाइरहेका छन् । झण्डै एक हप्ता बढीदेखि सीता एयरलाइन्सको बिमान नेपालगञ्जमा बिग्रिएका कारण उडान भर्न सकेको छैन भने समिट र तारा एयरलाइन्सले फोन, पावर र पहुँचका भरमा आफूखुशी टिकट वितरण गरिरहेका छन् । यस विषयमा जिल्लाका जनप्रतिनिधि र सरोकार निकाय, नागरिक समाज मौन छन् । दुई सातादेखि विमानस्थलमा जिल्ला बाहिर जाने यात्रुको घुइँचो लागेकोे लागेको उनीहरु सबै टिकट नपाएर रित्तो हात फिर्ता हुन बाध्य छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति