नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन

काठमाडौं, २८ कार्तिक । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि आज देशभरि नै प्रतिनिधि छनोट भएका छन्।एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले अधिकांश जिल्ला, विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी दिएका छन्। उनले सहमति हुन नसकेका जिल्ला कमिटीमा निर्वाचनबाट प्रतिनिधि चयन गरिएको बताएका छन्।

गोरखा, इलाम, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वी रुकुम, बैतडी, जाजरकोट, लमजुङ, प्यूठान, कास्की, कपिलवस्तु, अर्घाखाँची, बाग्लुङ, सङ्खुवासभा, खोटाङ, पाल्पा, नेपाल बुद्धिजीवी परिषद्, सिन्धुपाल्चोक, भोजपुर, पेशागत विशेष जिल्ला कमिटी, मजदुर विशेष जिल्ला कमिटीलगायत जिल्लाबाट निर्विरोध प्रतिनिधि चयन भएका उनले बताए। यस्तै गुल्मी, म्याग्दी, मकवानपुर, दोलखा, हुम्ला, सल्यान, रोल्पा, गण्डकी प्रदेश कमिटी, प्रेस चौतारी नेपाल, अनेरास्ववियु, प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएशन नेपाल (पिन), उद्योग व्यवसायी विशेष जिल्ला कमिटीमा समेत प्रतिनिधि चयन भएका छन्।

थापाले आइतवार सम्म सबै जिल्ला कमिटीमा प्रतिनिधि चयन गरिसक्ने योजना रहेको जानकारी दिएका छन्।एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला र एक दलित गरी पाँच प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ। एमालेले चयन गरिएका प्रतिनिधिको विवरण यहि कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ।

एमालेले महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन गर्ने भएको छ। एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ। विधान महाधिवेशन सकाएको एमालेले अबको महाधिवेशनमा नेतृत्व चयन गर्नेछ। पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५र१५ जना निर्वाचित हुने छन्। एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति