तरलता अभावको समस्या तत्काल समाधान गर्नुपर्नेः उपाध्यक्ष ढकाल

भक्तपुर, २६ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।

ढकालले भने, “विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र विस्तारै उठ्दैछ, यही समयमा बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पार्न सक्छ त्यसैले यो समस्या हल गर्न सरकार गम्भीर हुनुपर्छ ।” आज भक्तपुर उद्योग वाणिज्य सङ्घको ३४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यावसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलता समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले तत्कालै कदम चाल्न नसके यसले दीर्घकालीन समस्या उत्पन्न गर्नेछ उनले भने ।

निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इञ्जिन भएका उनले चर्चा गरे । मुलुकमा व्यावसायिक सफलता आएमा देशको आर्थिक वृद्धि भई रोजगारी सिर्जना हुने भन्दै उपाध्यक्ष ढकालले विकासोन्मुख देशमा निजी क्षेत्रको भूमिका झन ठूलो र महत्वपूर्ण हुने पनि स्पष्ट गरे । पर्यटन व्यवसाय पुनःसुरु भएको र आन्तरिक पर्यटन प्रवद्र्धनमा सरकारले कर्मचारीलाई १५ दिनको तलब उपलब्ध गराउने नीतिले आन्तरिक पर्यटनको विकासमा टेवा पुर्‍याएको उनको भनाइ छ ।

कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले भक्तपुरलाई हस्तकलाको राजधानीका रुपमा विकास गर्न सङ्घले आगामी पाँच वर्षे ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष शिव मानन्धरले अबको नयाँ नेतृत्व सर्वसम्मतरुपमा आउनुपर्नेमा जोड दिँदै सङ्घको गतिविधिलाई चलायमान बनाउने बताए । त्यसअवसरमा उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति