काठमाडौ, २६ कार्तिक । स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा गाँजा उत्पादनलाई सहजीकरण गर्ने गरी कानुन संशोधन गर्ने तयारी भइरहेको बताएका छन्।
गाँजालाई वैधानिक रूपले खुला गर्नुपर्छ भन्दै लामो समयदेखि वकालत गर्दै आएका स्वास्थ्यमन्त्री खतिवडाले अहिले भइरहेको कानुनमा एक/दुईवटा दफा संशोधन गरेर गाँजालाई लागुऔषधको श्रेणीबाट हटाउने जानकारी दिए।
नयाँ कानुन बनाउने होइन, अहिले भइरहेको कानुनमा एक/दुईवटा दफा संशोधन गर्ने हो, उनले भने, गाँजालाई लागुऔषध भनिएको ठाउँमा त्यसलाई संशोधन गरेर औषधिजन्य प्रयोजनका लागि र नगदे बालीका रूपमा व्यापार वा उत्पादन सहजीकरण गर्ने गरी कानुनमा संशोधन गर्ने हो। अहिलेसम्म यो संशोधन प्रक्रिया पूरा भइसक्नुपर्नेमा विभिन्न राजनीतिक समस्याका कारण दलहरूबीच गम्भीर छलफल गर्न नपाएको र संसद बैठकसमेत अवरूद्ध रहेकाले ढिलाइ भइरहेको उनले बताए।
नेपालमा गाँजा खुलाउनुपर्ने विषयले पहिलोपटक संसदमा २०७५ फागुनमा प्रवेश पाएको थियो। प्रतिनिधिसभा बैठकमा तत्कालीन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४६ सांसदले गाँजा वैधानिकु बनाउन सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका थिए।यसबारे पहिलो कुरा उठाउने खतिवडा नै हुन्।
बैठकमा बोल्न दिइएको तीन मिनेट समयमा उनले विदेशमा धमाधम गाँजा खुला भइरहेका बेला नेपालले समयमै यसबारे पहल गर्नुपर्ने बताएका थिए।अहिले आफू स्वास्थ्यमन्त्रीका रूपमा आएपछि उनी औषधिजन्य प्रयोग निम्ति गाँजालाई वैधानिक रूपले खुला गर्न कानुन संशोधनको तयारीमा छन्।
पछिल्लो समय कहिले गठबन्धनको समस्या, कहिले पार्टीको समस्या, कहिले प्रमुख प्रतिपक्षले सदन नै चल्न नदिने अवस्था रह्यो। यस्ता विधेयकहरू अघि बढ्ने संसदबाटै हो। संसद नै चल्न नसकेपछि हामीले गम्भीर ढंगले छलफल गर्ने अवसर पाएका छैनौं,उनले भने।अहिलेसम्म भएका छलफलका आधारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरू कोही पनि यसविरूद्ध नउभिएको उनले बताए।
प्रतिक्रिया