कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न नदिने

काठमाडौं, २६ कात्तिक । नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा बिहीबार बल प्रयोग गरेको विरोधमा एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बताइन् ।कानून व्यवसायीहरु सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने मूलगेटमा धर्ना बस्ने भएका छन् । तर सर्वोच्च अदालतले थप सुरक्षा बल मगाई कडाइ गरेकाले कानून व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ । प्रहरीले बारबाट सर्वोच्च अदालत प्रवेश गर्ने भित्री ढोकामा नै अवरोध गरेमा कानून व्यवसायीहरु सडकबाटै सर्वोच्च अदालतको मुलगेटमा गएर धर्ना दिने योजना बनाएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका छन् ।कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

बिहीबारदेखि नै सर्वोच्च अदालत परिसरभित्रै नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो ।प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबण्डा खोजेको खबर सार्वजनिक भएपछि नेपाल बारले आन्दोलन थालेको थियो । आन्दोलनको क्रमअन्तर्गत नै कानुन व्यवसायीहरुले कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका छन् । सर्वोच्चका न्यायाधीशहरुले पनि मुद्दाको सुनुवाइ गरेका छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति