काठमाडौँ,२२ कार्तिक पूर्वपरराष्ट्रमन्त्री तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूतमा सिफारिस साझा व्यक्तिहरूलाई गर्न सुझाव दिएका छन् । राजदूतमा सिफारिस राजनीतिक दलको भागबण्डा भन्दा पनि दक्षताका आधारमा गर्दा नियुक्त हुने व्यक्ति र देशका लागि राम्रो हुने उनको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुकमा राजदूतहरूको सिफारिसबारे श्रेष्ठले आइतबार लेखेका छन्, कम्तिमा पनि केही संख्या पार्टीहरूको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाऔं । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ । सत्तारुढ गठबन्धनलाई सत्ताबाहिर रहेका बेला भनेका कुरालाई मूर्तरूप दिने बेला आएको पनि श्रेष्ठको भनाइ छ । सामान्य बेलामा अमूर्त, राम्रा कुरा गर्ने तर लागू गर्ने बेला चाँही स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहस गरौं, उनको आग्रह छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि केपी शर्मा ओलीको पालामा राजनीतिक व्यक्तिहरूबाट नियुक्त सबै राजदूतलाई फिर्ता बोलाएका थिए । त्यसपछि अमेरिका, भारत र बेलायतका लागि तीन जनालाई राजदूतमा सिफारिस गरिएको थियो । भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई सिफारिस गरिएको थियो । उनीहरूको संसदीय सुनुवाई प्रक्रिया सुरु भइसकेको छ ।
श्रेष्ठले ओलीको पालामा नियुक्त भएका राजदूतलाई एकैपटक फिर्ता बोलाएकोमा पनि गठबन्धनको बैठकमा असहमति जनाएको सार्वजनिक गरेका छन् । एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयलाई बेठीक भन्दै असहमति जनाएको थिए । मेरो धारणा यस्तो थियो र रहेको छ । संविधान, कानुन र लोकतान्त्रिक मूल्यमान्यता विपरीत नियुक्त गरिएका, असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरूलाई मात्र फिर्ता बोलाउनु पर्दछ, सबैलाई एकमुष्टरूपमा होइन, गठबन्धनको बैठकमा आफूले भनेका कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । श्रेष्ठले आफूलाई पछिल्लो समय गठबन्धनका बैठकमा कमै बोलाइने गरेको पनि लेखेका छन् । ुप्रतिगमन विरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरूमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो । अनिवार्य जस्तै थियो सहभागिता । संघर्षको सफलता पछि पार्टीहरूको गठबन्धन शीर्षस्थ नेताहरूको गठबन्धन जस्तो बनेपछि भने एकाध बैठकहरूमा मात्र आमन्त्रण अनुसार भाग लिएको छु, श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया