मतपत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ : अध्यक्ष ओली

चितवन, १५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् । पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।” नेकपा एमाले बहुमतको सङ्कल्पका साथ अघि बढेको भन्दै उहाँले कसैको तागतले रोक्न नसक्ने बताए। पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उनले भने, “जोजो मिलेर आए पनि एमालले सामना गर्छ ।”

एमालेले लोकतन्त्रमा विश्वास गर्ने भन्दै उहाँले जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताए। उनले भने “अब फेरि कसैले मतपत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ ।” आफूहरु तीनै तहमा बहुमत ल्याउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै उहाँले रोक्न सके रोक्नका लागि विपक्षी दलहरु समक्ष चुनौती दिए।नेकपा (एमाले)पदका लागि नभएर देश बनाउनका लागि खुलेको पार्टी भएको भन्दै उनले यसका कार्यकर्ता यसैतर्फ केन्द्रित हुने बताए। उनले भने, “हामी समाजवाद ल्याउन चाहन्छौँ, समाजवादको आधार तयार पार्न ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्नुपर्छ ।” समाजवादको आधार तयार पार्ने बाटो र विधि जनताको बहुदलीय जनवाद भएको बताउँदै ओलीले भने, “हामी देश बनाउन हिँडेका हौँ, पाँच दलीय गठबन्धन भत्काउन हिँडिरहेका छन् ।”पार्टीको अधिवेशनमा पारस्परिक अन्तरविरोधलाई त्यागेर भविष्यका लागि मिलेर जान आवश्यक रहेको उनले बताए।

उनले भने, “हिजो के के भयो भन्ने बिर्सिनुहोस्, अब पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुहोस् ।” उनले चितवनका सबै क्षेत्रमा निर्वाचन जित्ने गरी लाग्न निर्देशन दिए। सो अवसरमा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले नेपाललाई राजनीतिक अस्थिरताको भुमरीमा धकेलिएको र फसाइएको भन्दै देशी विदेशी प्रक्रियावादीहरुले षड्यन्त्र गरिरहेको बताए।

आगामी निर्वाचनबाट जनताको मतबाट एमालेले देशको नेतृत्व गर्ने उनले बताए। देशमा समृद्धि र विकाससँगै अगाडि बढाएर राष्ट्रिय स्वाधीनताको जिम्मेवारी नेकपा एमालेको काँधमा आएको उनको भनाइ थियो ।एमाले नेता प्रभु साहले केपी ओली बाचुञ्जेल साथ दिने भन्दै सच्चा कम्युनिष्ट नेतृत्व एमालेले गरेको बताए। उनले आगामी निर्वाचनमा प्रदेश २ एमालेमय बन्ने दाबी गरे। कार्यक्रममा एमाले नेता सुरेन्द्र पाण्डे, माधव ढुङ्गेल, रामप्रसाद न्यौपानेलगायतले बोलेका थिएअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति