प्रदेश १ का मुख्यमन्त्री आचार्यले मतदान हुनुअघिनै दिए राजीनामा

विराटनगर, १५ कार्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् ।

उनले सम्बोधन गर्दै राजनीतिक खिचातानीले लोकतन्त्र नै खतरामा परेको दाबी गरेका छन् । ‘सबै दल एकै ठाउँमा उभिनुको विकल्प छैन, तर सबै एकअर्काको खिचातानीमा परेर संविधान र लोकतन्त्र नै खतरामा परेको छ,’ उनले भने,’मेरो सरकार गठनदेखिनै अस्थिरताबाट जकेडिएको छ तथापि राम्रो काम गरेको छु ।’

सम्बोधनका क्रममा उनले आफूले पहिल्यै पनि राजीनामा दिन चाहेको तर जनताका कारण नदिएको दाबी गरे । जनताले अगाडि बढ भनेकाले राजीनामा नदिई बसको उनले बताए ।

मुख्यमन्त्री आचार्यले जारी प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भए पनि विश्वासको मत नपुग्ने भएपछि राजीनामाको घोषणा गरेपछि उक्त कार्यसूची हटाइएको सभामुख प्रदीप कुमार भण्डारीले जानकारी दिए ।

आचार्यले राजीनामाको घोषणा गरेसँगै प्रदेशसभा बैठक कात्तिक २३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । गत भदौ १० गते आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक छ । तर पार्टी फुटेपछि प्रदेश(१ मा एमालेका ४१ सांसद छन् । त्यसमध्ये एक जना सभामुख हुन् भने र एक जना फरार छन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा ९एस० प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति