थाप्लाका तरकारी व्यवसायमा जमेको सामन्त जोडी

दार्चुला, १४ कात्तिक । महाकाली नगरपालिका–९ थाप्लाका ५२ वर्षीया जानकीदेवी सामन्त र ५२ वर्षीय विक्रमसिंह सामन्तको दैनिकी डेढ दशकयता तरकारी खेती गोडमेलमा बितेको छ ।

बिहान उठेदेखि बेलुकी अबेरसम्म तरकारी गोड्ने, फलेका तरकारी टिप्ने, पानी लगाउने र बेर्ना छर्ने काममा व्यस्त हुन्छन्, जहिल्यै यो जोडी । विसं २०४२ देखि सानो तरकारी बारी सुरु गरेका जानकीका श्रीमान् विक्रमले २०६२ सालदेखि व्यावसायिक रुपमा तकारी खेतीमा आबद्व भएका हुन् । उनले आफूमात्र नभई घरका श्रीमती जानकी, आमा, बुबा, बुहारी सबैलाई तरकारी खेतीको काममा लगाएका छन् ।

तत्कालीन कृषि विकास कार्यालय र कृषि क्षेत्रमा काम गर्ने सहभागी नामक संस्थाले तरकारी खेती उत्पादन सिकाएपछि विक्रमको दिनचर्या मात्र नभई पूरै परिवारको दिनचर्या तरकारीमा बित्न थालेको हो । जानकीका परिवारले १०८ रोपनी व्यक्तिगत र एक सय रोपनी जमिन भाडामा लिएर बीउ उत्पादन र तरकारी उत्पादन गर्ने काम सुरु गर्नुभएको छ । तरकारीमा भविष्य देखेका उनले पूरै घरपरिवारलाई तरकारी खेतीमा नै लगाएका हुन् ।

तरकारीको बजार खोज्ने, ढुवानी प्रबन्ध गर्ने र बजारीकरण गर्ने जिम्मा श्रीमान् विक्रमको हो । घरमा बीउ लगाउने, तरकारीको हेरचाहदेखि उत्पादन र टिपेर बजारसम्म लैजाने काममा घरमा आफूसँगै बुहारी पार्वत र माधवीले साथ दिएका छन् । “तरकारी खेती गर्न घरपरिवारले मात्रै सम्भव नभएपछि मौसमअनुसार गाउँका ४० देखि ५० जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छौँ”, उनले भने, “कुन तरकारी लगाउने, कुन समयमा बेर्ना लगाउने, मल हाल्ने सिकाउने काम श्रीमान्ले गर्छन् ।” घरको मूलीका रुपमा विक्रमले तरकारी खेती लगाउनमा भूमिका खेल्ने गरेकाे बताए ।

महाकाली लोकमार्गबाट झण्डै तीन घण्टा उकालो हिँडेपछि सामन्तको तरकारी खेतमा पुग्न सकिन्छ । उनले उत्पादन गरेको तरकारी गाउँमा मात्र नभई भारत उत्तराखण्डको जोलजीवी, बालुवाकोट धार्चुला र दार्चुला सदरमुकाम खलङ्गालगायत क्षेत्रमा बिक्री हुन्छ । उनलाई सबैले ‘तरकारीवाला’ भनेर गाउँमा चिन्ने गर्छन् । उनले एक मौसममा झण्डै चार हजार क्‍वीन्टल तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेको बताए । “तरकारी र बीउ बेर्ना बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु १० लाख बचत हुने गरेको छ”, विक्रमले भने, “यो वर्ष कोरोनाका कारण धेरै तरकारी र बेर्ना उत्पादन गरेनौँ । तर पनि अहिलेसम्म रु तीन लाख मूल्य बराबरको प्याजको बेर्ना र रु एक लाख मूल्य बराबरको तरकारी बजारमा पठाएका छौँ ।”

उनले विसं ०६२ अघिसम्म तरकारी थोरै मात्र उत्पादन गर्ने गरेका थियौँ । खेतमा अन्नबाली लगाउने गरिएको थियो । त्यसयता भने अन्न उत्पादन छोडेर तरकारीमा पूरै परिवारमात्र नभई गाउँलेलाई समेत रोजगारी दिलाउँदै अघि बढेका बताए । ”तरकारीको आम्दानीबाटै जेठो छोरा दीपेन्दलाई्र एसएलसीसम्म चितवनमा र बिबिएस सदरमुकाम खलङ्गामा पढाए । अर्को छोरा कृष्ण चितवनमै ओभरसियर गरेर पाँच वर्ष कतारमा बसे । कोरोनाका कारण अहिले घर फर्किएको छ । दुई छोरीलाई पनि सँगसँगै पढाएको हुँ”, उनले भने । सानो क्षेत्रफलबाट सुरु गरेको तरकारी खेतीबाट सामन्त दाम्पत्यले अहिले करोडौँको सम्पत्ति जोड्न सफल भएका छन् ।

विसं २०४२ मा एसएलसी अनुत्तीर्ण भएपछि विक्रमको जीवनले फड्को लिएको हो । घरको आर्थिक अवस्था नाजुक भएका कारण थप पढाइ गरिएन् । बरु गाउँमा तरकारी लगाउन थाले विगत सम्झँदै विक्रमले भने, “०४२ सालमा गाउँ नजिकैबाट जानकीसँग विवाह भयो । विवाह भएपछि तरकारी खेतीसँगै किसानी काममा जोडिए दुवै जना । श्रीमान् श्रीमती मिलेर तरकारी खेती, भैँसी, गाई र बाख्रासँगसँगै पाल्न सुरु गरे ।”

श्रीमान्‌काे तरकारी खेतीको तालिम लिँदै गए र श्रीमतीलाई घरमा सिकाउन थाले । श्रीमान्‌काे सीपको प्रयोगले आफू पनि तरकारी खेतीमा जम्‍न सकेको जानकीले बताए । “सुरुमा यति विकट ठाउँमा तरकारी उत्पादन गरेर आम्दानी होला जस्तो लाग्दैन थियो,” उनले भने, “यो डाँडामा तरकारी लगाएर कहाँ बिक्री होला, कसले खाला यत्रो तरकारी सोचिन्थ्यो तर विक्रमको हिम्मत कहिल्यै पछि परेन ।” हुन त जानकीले पनि कक्षा ७ सम्मको पढाइ गरेका छन् । दुवैले अलिअलि व्यापार व्यवसायमा दिमाग लगाइसकेका थिए । “अन्नबाली लगाउँदा सात/आठ महिनाभन्दा बढी नपुग्ने रु त्योभन्दा श्रीमान्‌काे तरकारी खेती नै गरौँ भनेपछि व्यावसायिक रुपमै तकारीमा होमियौँ”, उनले भने ।

गाउँको पूरै अर्ग्यानिक तरकारी भएर पनि उनको बारीसम्म तरकारी हेर्न, अवलोकन गर्न जानेको भीड लाग्छ । जिल्लाका न्यायाधीश, सिडियो, सुरक्षा अधिकारी, सरकारी कार्यालय, गैससकर्मी देखि राजनीतिक दलका प्रमुख नेता सामन्तको तरकारी बारी हेर्न वर्षमा एकदुईपटक पुगेकै हुन्छन् । उनले गाउँमा पुग्ने पाहुनालाई आतिथ्य गराउने र अर्ग्यानिक खाना खुवाएर पठाउने, व्यवसायको सफलताबारे सुनाए । “मैल एसएलसी कटाएको भए जागिर खान्थे होला, जागिर अहिलेको जस्तो सम्पत्ति र मानसम्मान पाउँदैन थिए होला”, विक्रमले भने, “मैले जुन पेसा अँगाले यसले मलाई आत्मसन्तुष्टि दिलाएको छ ।”

यति ओकालो बाटो हिँडेर मेरो बारीसम्म आएर अवलोकन गर्छन् हाकिमहरु । लगातार तीनपटक राष्ट्रपति कृषक पुरस्कार पाएको छु । जिल्लाका सबै ठाउँ पुगेर तरकारी लगाउन सिकाएको छु । अगुवा कृषकको उपाधि पाएको छु । योभन्दा हाम्रो परिवारका लागि आत्मसम्मान के हुन्छ र रु सुरुमा केही कठिनाइ भए पनि अहिले मिहिनेतले सफलता दिलाएको छ । खेतमा हाल्ने मल घरमै उत्पादन गर्छन् । गाईभैँसी पालेका छन् । आधुनिक गोठ बनाएर दैनिक ४० लिटर गौत सङ्कलन गरेर मलका रुपमा प्रयोग हुन्छ । विषादी शू्न्य छ । दैनिक पाँच केजी युरिया बराबरको गौतबाट मल उत्पादन हुन्छ । गोभी, भन्टा, टमटार, खुर्सानी, प्याज, तीतेकरेला, फर्सी, लौका, रायो तरकारीदेखि हरेक प्रकारका बेर्ना उत्पादन हुन्छ, उनका बारीमा ।

घरमै बसेर व्यवसाय सञ्चालन गरेकामा ती दम्पत्ति खुसी छन् । “सडकको मात्रै पहुँच पुग्ने हो भने हामीले धेरै मिहिनेत गर्नुपर्दैन । सुरुमा धेरै मिहिनेत गर्नु परे पनि अहिले भने हामी सन्तुष्ट छौँ”, उनले भने, “हामीले लगाएको तरकारी देखेर अहिले गाउँमा १०/१५ परिवारले व्यावसायिक रुपमा तरकारी खेती सुरु गरेका छन् । गाउँभरिका १२० घरधुरीमध्ये एक सय घरधुरीले आफूलाई खान तरकारी लगाउन थालेका छन् ।”

उनका अनुसार माटोको परीक्षण हुन नसक्दा अहिले विगतको भन्दा उत्पादनमा केही ह्रास आएको छ । जलवायु परिवर्तनको असर पनि हुन सक्छ । असिनापानीले तरकारी खेती र बेर्ना समयसमयमा नष्ट हुने गर्छ । अहिले उत्पादन कम भए पनि उत्पादन क्षेत्र बढाउँदै लगेका छौँ । घरका लागि अन्न थोरै मात्र लगाउँछौँ । “हामी पूर्णरुपमा तरकारी र किसानी पेसामा छौँ तर किसान पेन्सन लागू नहुँदा मारमा छौँ”, उनले भने, “काम गर्ने उमेरसम्म काम गर्ने हो, बुढेसकालमा पेन्सन पनि भइदियो भने पहिचान पनि हुने र सहरा पनि हुने थियो होला ”

उनले भने, “विकट ठाउँमा बसेका छौँ । सडक पुर्‍याउनुपर्छ, आधुनिक खेती प्रविधि र तालिम दिनुपर्छ । तीन तहको सरकार छ तर गरेर खानेलाई कुनै निकायले सहयोग गर्दैनन् । थोरै अनुदान पाउन सके अझै व्यवसाय अगाडि बढाउन मद्दत पुग्ने थियो । हामीले गरेको व्यवसाय अरूले पनि सिकून् भन्ने चाहना छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति