राष्ट्रपति भण्डारी मुक्तिनाथदेखि ढोरपाटनसम्म त्रिदिवसीय भ्रमणमा


काठमाडौं, १३ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी देशका धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन र जानकारी लिनका लागि आजदेखि तीन दिनसम्म काठमाडौं बाहिर विभिन्न क्षेत्रको भ्रमणमा निस्किएकी छन् ।अनौपचारिक भनिएको यो भ्रमण मुलतः लुम्बिनी, मुक्तिनाथ, ढोरपाटन, मनाङ जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा केन्द्रित हुनेछ। राष्ट्रपति भण्डारी आज हिन्दुहरुका प्रसिद्ध चार धाममध्येको एक मुक्तिनाथतर्फ लागेकी छन् ।

मुस्ताङमा अवस्थित मुक्तिनाथ धार्मिक तथा पर्यटकीय स्थलका रुपमा चर्चित छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पछिल्लो नेपाल भ्रमणका क्रममा मुक्तिनाथको दर्शन गरी यहाँको धार्मिक पर्यटनको महत्व दर्शाएका थिए ।मुक्तिनाथका साथै आजै राष्ट्रपति ढोरपाटन शिकार आरक्षमा पुग्ने कार्यक्रम छ । त्यहाँ आरक्षका वार्डेनले शिकार आरक्ष र पर्यटनको अवस्थाका बारेमा ब्रिफिङ गर्नेछन् भने ढोरपाटन नगरपालिकाका मेयरले स्वागत गर्नेछन् ।

राष्ट्रपति भण्डारी आजै काठमाडौं फर्किने र भोलि लुम्बिनीमा जाने कार्यक्रम रहेको प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । त्यहाँ विश्वकै अग्लो बुद्धको मुर्ति प्रतिस्थापन लगायतका कार्यक्रम छन् ।राष्ट्रपति भण्डारी मंगलबार हिमालपारीको जिल्ला मनाङ जानेछिन् । पर्यटकीय अवस्थाको बारेमा बुझ्नुको साथै नेकपा एमालेका सांसद पोल्देन छोपाङ गुरुङको नमूना स्याउ उद्योगको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।राष्ट्रपतिको यसपटकको अनौपचारिक भ्रमणको उद्देश्य कोभिड संकटका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन प्रचार गर्ने तथा राष्ट्रिय उद्यमशीलतालाई प्रबद्र्धन गर्ने उद्देश्यले हुन लागेको अर्थमा बुझ्न सकिने ढकालले बताए ।नेपालको धार्मिक पर्यटनको महत्व रहेकाले राष्ट्रपति मुक्तिनाथ र लुम्बिनी एकैपटक भ्रमण गर्न लागेको र मनाङ तथा ढोरपाटन शिकार आरक्षको समेत भ्रमण गरेर पर्यटन आन्तरिक तथा बाह्य पर्यटकलाई सन्देश दिन खोजिएको छ ।

अब नेपाल सुरक्षित छ भनेर सन्देश दिने तथा सांसदले चलाएको नमूना स्याउ फार्मको अवलोकन गरेर राष्ट्रिय उद्यमीलाई हौसला दिने उद्देश्य देखिन्छ ।राष्ट्रपतिको भ्रमणको सबै प्रबन्ध नेपाली सेनाले गरेको छ । राष्ट्रपति सेनाको हेलिकोप्टरबाटै ती ठाउँमा जाने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति