काठमाडौं, १२ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायपालिकाको नेतृत्व गर्न नसकेको अनि पदीय मर्यादा कायम राख्न नसकेको आरोपमा विवादमा मुछिएका छन् । सर्वोच्च अदालतकै न्यायाधीशहरुदेखि बार र पूर्वप्रधानन्यायाधीशहरुले समेत उनको राजीनामा मागेका छन् ।
यतिवेला उनले एक टेलिभिजन मार्फत आफ्नो धारणा राखेका छन् । टेलिभिजन अन्तर्वार्तामा उनले आफूले तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने भन्दै केही व्यक्तिले राजीनामा माग्दैमा नदिने बताएका छन् । उनले भनेका छन्, ‘पाँच जनाले मागेर राजीनामा दिएर मैले न्यायपालिकालाई अनाथ बनाएर भविष्यमा यही प्रवृत्ति दोहोरिने बाटो किन गर्नु ? यो मेरो कानमा पनि छैन, आँखामा पनि छैन, मस्तिष्कमा पनि छैन ।’ प्रधानन्यायाधीश जबराले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई विवेक नभएको र सुशीला कार्कीलाई अर्काको आँखाले हेर्ने, अर्काको कानले सुन्ने व्यक्ति भएको टिप्पणीसमेत गरेका छन् । उनले एक प्रश्नको जवाफमा भने –आज प्रधानन्यायाधीश एक्लै छ । यसको धेरै खोतलेर जानुस् । हिजोका प्रधानन्यायाधीशलाई त झनै धेरै आरोप लागेका थिए ।
बालुवाटारलाई मछलीबजार बनायो भन्ने आरोप लागेको थियो । सर्वोच्च अदालतलाई मछलीबजार बनायो भन्ने आरोप थियो । सबै न्यायाधीशलाई दबाब र प्रभावमा राख्यो भन्ने आरोप थियो । कोही पनि स्वाभिमानी भएन, स्वतन्त्र भएन भन्ने आरोप थियो । सबै चिया र रक्सी खाएर यी क्रिया भए भन्ने आरोप थियो । आज हामीले इतिहास बिर्सनु हुँदैन । उहाँहरुले गरेका गल्ती र कमजोरीहरु मैले सुधारेको छु । आज म सर्वोच्च अदालतमा बाहेक व्यक्तिगत रुपमा कुनै कानून व्यवसायीहरुसँग बसेर चिया खाएको छैन । चौथो अंगका पदाधिकारीहरुसँग बसेर चिया खाएको छैन । मेरा न्यायाधीशहरुलाई संस्कार दिन सकिन भने प्रधानन्यायाधीश भएर सम्मान दिन पर्दैन भन्ने मेरो विचार हो । मेरा सबै न्यायाधीश स्वाभिमानी हुनुपर्छ भनेको छु ।
त्यसरी असंलग्न भएर एक्लो बस्दा आज म एक्लो बृहस्पति भएँ । त्यसैले त हामीले बृहस्पतिको गुणगान गाइरहेका छौं । आजसम्म हामीले बृहस्पतिलाई भगवानको अवतारको रुपमा लिइरहेका छौं । त्यो जिम्मेवारीबाट कुनै मानेमा पनि म विस्खलन हुन्नँ ।कानूनले तोकेको अवधिमा मैले जनतालाई न्याय दिन सकेको छैन । त्यसमा म माफी माग्छु । विधि र प्रक्रिया यति लामो छ । २० जना न्यायाधीश छौं । न्यायपालिका एकात्मक भएकाले सबै मुद्दा सर्वोच्च अदालतमा आए । अब न्यायप्रशासन ऐनमा सुधार गरेर उच्च अदालतमा दिएर सर्वोच्च अदालतमा भार घटाउन सक्छौं । हिजो ७ हजार मुद्दा हुदा २५ न्यायाधीश थिए । मुद्दाको अनुपात ४० हजार छ, अहिले २१ जना न्यायाधीश छन् । एउटा इजलासले बजारमा हजार १५ सय मुद्दा फर्स्यौट गर्ने हो ।
प्रतिक्रिया