पोखरा, १२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् ।पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने दाबी गरे । ‘एउटा प्रदेशको काम एकैचोटि सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटि सम्पन्न गर्ने । राष्ट्रको सम्पत्ति पनि धेरै जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी हिसाबमा केके अड्चन आउँछन्, थाहा छैन । तर, मेरो दिमागमा त्यो कुरा आइराखेको छ ।’यद्यपि, नेता नेपालले सबै तहको चुनाव एकैपटक गर्ने विचार नितान्त व्यक्तिगतमात्रै भएको प्रष्ट्याए । कानुनी व्यवस्था र जटिलताबारे गठबन्धनसहित सरोकार निकायसँग आफूले अरुसँग छलफल गर्न नपाएकोसमेत उनले सुनाए । नेपालले भने, ‘५ दलीय गठबन्धनमा यो कुरा राखेको पनि छैन । पार्टीको कानुन विभाग र निर्वाचन आयोगसँग पनि कुरा गर्न पाको छैन ।’ स्थानीय तहको चुनाव आगामी चैतमा गर्ने प्रधानमन्त्री देउवाले प्रस्ताव गरेका छन् ।
खर्च धेरै भयो, सबै चुनाव एकैपटक गरौं– अध्यक्ष नेपाल
प्रतिक्रिया