फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’

काठमाडौँ, १२ कार्तिक । फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् ।

सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन् । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ ।फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा पनि आफ्नो काम विस्तार गर्ने जनाएको छ । जसका लागि नयाँ नाम चाहिएको पनि उसले जनाएको छ ।

फेसबुकले केही समय अगाडि मात्रै भर्चुअल रियालिटीका क्षेत्रमा काम गर्ने गरी विकास गर्न लागेको ‘मेटाभर्स’ प्रोजेक्टका लागि युरोपमा १० हजार कर्मचारी नियुक्तिको तयारी गरेको घोषणा गरेको थियो ।मेटाभर्सलाई ‘इन्टरनेटको भविष्य’ भनेर चर्चा गरिएको छ । कतिपयले यसलाई भर्चुअल रियालिटीकै परिष्कृत रूप पनि भनेका छन् । जसरी सन् १९८० को दशकमा ठूला–ठूला मोबाइल सेटलाई अहिले स्मार्टफोनले विस्थापित गर्‍यो, त्यसरी नै भर्चुअल रियालिटीलाई मेटाभर्सले विस्थापित गर्ने बताइएको छ । बीबीसीका अनुसार सबै प्रकारको डिजिटल प्रविधिलाई मेटाभर्सले जोड्ने काम गर्छ । त्यसका लागि अहिले कम्प्युटरको प्रयोग भए पनि मेटाभर्समा भने टाउकोमा लगाउने एउटा उपकरण(हेडसेट) प्रयोग गरिनेछ ।

अहिले भर्चुअल रियालिटी प्राय: गरेर गेम खेल्नका लागि प्रयोग हुने भए पनि मेटाभर्समा भने खेल, कार्यक्रम आयोजना, चलचित्र हेर्न वा गफगाफका लागि समेत सहज हुने बताइएको छ । मेटाभर्स अहिले एउटा सोच भएकाले ठ्याक्कै यही हो भनेर परिभाषित गर्न कठिन हुने पनि प्रविधि विश्लेषकहरूको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति