जबरालाई महाअभियोग लगाउनेबारे छलफल नै गरेको छैन – अध्यक्ष नेपाल

काठमाडौं, ११ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन् । समाजवादी प्रेस संगठनले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले न्यायपालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताए ।

न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको पनि समेत उनले बताए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको आवाज उठिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको आदेश दिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसबारे सोधिएको प्रश्नमा नेपालले भने, ‘उहाँले (केपी शर्मा ओलीले) आफ्नो रिस साँध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्दै जुन ढंगले भूमिका खेल्नुभएको छ, उहाँको अत्यन्तै अनुचित हस्तक्षेपकारी, देशका सबै सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो ।’ ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित बताउँदै नेता नेपालले भने, ‘केपी ओली जीले साराथोक बिगार्नु भाछ । न्यायपालिकालाई अनावश्यक रुपमा लान्छना लगाउने काम गर्दै आउनु भयो । न्यापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने हो ।’

पछिल्लो समय विवादमा परेका प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउनेबारे छलफल नै नभएको पनि उनले बताए । ‘महाअभियोगको विषय प्रवेश नै गरेको छैन, छलफलै भएको छैन । म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन,’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति