स्वदेशमै श्रम खर्च गर्न सके सुन फलाउन सक्ने रहेछः व्यवसायी

देउखुरी, १० कात्तिक । घर आँगनमा फूलेकाे सयपत्री र मखमलीले तिहारको झल्को दिन थालेकाे छ । वैदेशिक राेजगारीबाट स्वदेश फर्किएपछि केही नयाँ व्यवसाय गर्ने सोचले गरिएकाे व्यावसायिक फूल खेती, विदेशमा श्रमको मूल्य बुझेपछि स्वदेशमै श्रम खर्च गर्न सके यहीँ सुन फलाउन सक्ने अठोट सफल भएकाे बताउँन्छन् ।

रोल्पा सुन छहरी गाउँपालिका–७ मा जन्मिनुभएका लोकेन्द्र रोकामगर एक दशकअघि रोजगारीको सिलसिलामा कतार पुगेका थिए । स्वदेश फर्केपछि उनको मनमा फूलखेती गर्ने अनौठो योजना बनेकाे सम्झिन्छन् । सुरुमा उनलाई फूलखेती कस्तो होला भन्ने लागेको थियो तर बजारको माग र अवस्था बुझेर काम सुरु गरेपछि सात वर्षअघि घोराहीमा– ६ कट्ठा जग्गा भाडामा लिएर परीक्षणका लागि १ कट्ठाबाट फूलखेती सुरु गरेका रोकामगरको व्यवसाय हाल फक्रिँदै गएको बताएका छन् ।

सुरुवाती चरणमा बजारमा फूल बिक्रीका लागि लैजाँदा, फूल पनि बेच्छन् ? भन्ने मानिसहरू अहिले ग्राहक बनेको उनको भनाइ छ । फूल टिप्नु हुँदैन, पाप लाग्छ भन्ने समाजमा रहेको गलत मान्यतालाई चिर्दै फूलको व्यावसायिक खेती थालेको उनी अहिले सफल फूल व्यवसायी बनेका छन् । घोराही– १४ झिङगौरामा रोकामगरले करिब एक बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्दै आएका छन् । लगातारको परिश्रम, काममा विश्वास र श्रमको सम्मान गर्दै जाँदा अहिले फूल व्यवसायी बनेर परिचित हुन पाउँदा आफूलाई मनमा निकै सन्तोष मिल्ने गरेको उनको भनाइ छ ।

पहेँलपुर फुलेका सयपत्री फूलको बगैँचामा काम गर्दै रोकामगरले भने, “सुरुसुरुमा फूल संस्कृतिको विकास गर्न चुनौती सामना गर्नुपर्‍यो, विस्तारै सबैले यसको महत्व बुझ्दै गएपछि, अहिले राम्रो भएको छ, यसले पनि मलाई काम गर्नमा थप हौसला मिलेको छ ।” उगले सुरुआती चरणमा फूलको नर्सरी र मौसमी फूलखेती गर्दै आएका थिए । जिल्लामा दसैँ, तिहारलगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेको उनले बताए । “मैले सुरु गर्ने बेलामा दाङमा व्यावसायिक रुपमा फूलखेती कतै भएको थिएन, काठमाडौँतिर फूलखेती व्यावसायिक रुपमा गरेको देखेको थिएँ अनि मैले यहाँ गर्दा कसो नहोला र भन्ने सोँच बनाएँ”, रोकामगरले भने ।

लुम्बिनी प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि केही अनुदान सहयोग गरेको उनको भनाइ छ । दैनिकजसो फूल खरिद गर्न स्थानीय तथा जिल्ला बाहिरबाटसमेत ग्राहक आउने गरेको उनको भनाइ छ । रु एक लाखबाट सुरु गरेको फूलखेतीमा अहिले करिब रु सात लाख लगानी रहेको उनले जानकारी दिए । सुरुआतमा स्थानीय जातको फूल रोपेर खेतीको थालनी गरेका रोकामगर अहिले विभिन्न जातका फूलखेती गरेका छन् ।

उनको बारीमा तिहारका लागि सयपत्री फूलिसकेका छन् । तिहारका लागि फूलका माला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा यो पटक करिब सात हजार माला बिक्री गर्ने लक्ष्य लिएको उनको भनाइ छ । जिल्ला बाहिरबाट माग आएको भए पनि स्थानीय बजारमा खपत भइरहेको हुँदा जिल्लालाई प्राथमिकता दिएर फूल रोपेको बताए । फूल व्यवसाय प्रवद्र्धनका लागि स्थानीय सरकारले पनि सहयोग गर्दै आएको उनले जानकारी दिए, यसले आफू थप उत्साहित भएको रोकामगरको भनाइ छ । उनको फूलबारीमा सिजन अनुसार काम गर्ने मानिस राखेर दैनिक रुपमा दुई जना कामदारले रोजगारी पाएकाे बताएका छन् । जिल्लामा फूललाई टिपेर लामो समयसम्म राख्न मिल्ने चिस्यान केन्द्र नभएको उनको गुनासाे रहेकाे छ । उनले भने, “यहाँ फूलका लागि चिस्यान केन्द्र छैन, जसले गर्दा लामो समयसम्म फूललाई जोगाउन कठिन छ, फूलको स्टोर आवश्यक छ ।”

अहिले तुलसीपुर र घोराहीका अन्य स्थानमा पनि मौसमी रुपमा सयपत्रीको फूलखेती गरिएको छ । तुलसीपुर– सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–८ दोघरेमा पनि सयपत्री फूलखेती गरिएको छ । स्थानीय पाँच जना युवा मिलेर संयुक्त लगानीमा फूलखेती गरिएको हाे । करिब सात कठ्ठा क्षेत्रफलमा रोपिएको सयपत्री फूल अहिले फुलेर ढकमक्क बनेको छ । फूलखेती गर्दै आउनुभएको झग्गु भण्डारीका अुनसार पाँच युवा मिलेर जग्गा भाडामा लिएर बेलुवामा तीन महिना पहिले सयपत्री फूलखेती गरिएको हाे । दाङमा व्यावसायिक रुपमा फुलखेतीतर्फ युवाको आकर्षण बढ्दै गएको छ । बाणगङ्गा नगरपालिका कपिलवस्तुका भास्कर पङ्गेनीले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्दै आएका छन् । कपिलवस्तुमा चार वर्षदेखि फूलखेती गरिरहेका पङ्गेनीले दाङमा १० कट्ठा जमिन मासिक दुई हजार भाडा दिने सर्तमा फूलखेती गरेका छन् । स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले रु पाँच लाख लगानी गरेर खेती सुरु गरेको उनको भनाइ छ ।

फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनले बताए । उत्पादन भएको फूल विदेशमा निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको कृषि विज्ञहरूले बताए । जग्गा बाँझो छोडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूलखेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार निर्माण हुनुका साथै देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने विज्ञको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति