काठमाडौं, ८ कार्तिक । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० सदस्य पदमुक्त हुँदैछन् । पदमुक्त हुनेमा सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् । नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा (एकीकृत समाजवादी)का ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुनेछन् ।
एमालेका सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई चार वर्षको अवधि पूरा गरेर विदा हुँदैछन् ।
माओवादी केन्द्रबाट निर्वाचित शशीकला दाहाल, दीनानाथ शर्मा, जीवन बुढा र खिमकुमार विक पनि फागुन २० गतेदेखि पदमुक्त हुँदैछन् ।
नेकपा एकीकृत समाजवादीमा रहेका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी पनि बिदा हुँदैछन् ।
यस्तै, नेकपाली कांग्रेस राधेश्याम अधिकारी, तारादेवी भट्ट र दृगनारायण पाण्डे बिदा हुँदैछन् । अधिकारी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता हुन् भने भट्ट दियो विकास तथा सुशासन समितिकी सभापति हुन् । अर्का मनोनित सांसद रामनारायण बिडारी पनि बिदा हुँदैछन् ।
२०७४ साल फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचनबाट निर्वाचित भएका ५९ सदस्यको गोलाप्रथाबाट कार्यकाल तय गरिएको थियो । जसमध्ये गोला तान्दा २ वर्ष कार्यकालको गोला तान्नेहरु अघिल्लो बर्ष नै विदा भएका थिए भने ४ वर्षको तान्नेहरु आगामी फागुन २० गतेबाट बिदा हुन लागेका हुन् ।

प्रतिक्रिया