काठमाडौं, ७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने, उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहानेहरुले माओवादीको विरोध गरेका टिप्पणी गरेका छन् ।आइतबार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले पूर्वअर्थसचिव रामेश्वर खनालप्रति लक्षित गर्दै सामाजिक विभेदलाई रुचाउने तथा सामन्ती उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहनेहरुले माओवादीको विरोध गरेको बताएका हुन् ।‘कतिपय ठूल्ठूला महान विद्वान कर्मचारीतन्त्रका ठूला भन्नेहरु चाहिँ माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भनेको सुन्नुभएको छ नि हिजो अस्ति मात्रै । को हुन् ती मान्छेहरु ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरि पुनर्स्थापित गर्न चाहने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरुलाई सिध्याएपछि हुन्छ के ?’ उनले भने ।
पूर्व अर्थसचिव खनालले केही दिन अघि ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त ।’ भनि ट्वीट गरेका थिए । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा जातिय विभेद हटाउन अन्र्तजातिय विवाह गर्ने क्रम सुरु भएको भएपनि अझै जातिय विभेद कायम रहेकोमा दुःख व्यक्त गरे ।
उनले रोल्पा, रुकुममा अन्र्तजातिय प्रेम गरेका कारण दलित युवा मारिनु आफ्नो लागि पीडाको विषय भएको उल्लेख गरे । उनले भने ‘अहिले बिस्तारै फेरी उपल्लो जात र तल्लो जात, अझ मलाई सबभन्दा बढी पीडा हुने त रोल्पा, रुकुमजस्ता ठाउँहरु जहाँ सबभन्दा बढी दलितहरुलाई उन्मुक्ति दिनका लागि धेरै नेता कार्यकर्ताहरु जन्मिए, धेरै त्यसखालका बिद्रोहका किर्तिमानहरु कायम भए । अन्र्तजातिय विवाहहरु भए त्यहीँ अहिले दलित केटासँग प्रेम गरेको विषयलाई लिएर दलित युवा र अन्य युवाहरु मारिए त्यही ठाउँमा । मेरो लागि यो निकै ठुलो पीडाको विषय भएको छ । प्रतिक्रान्ति भनेको त यसरी पो हेर्दाहेर्दै हुँदोरहेछ । भयो । जुन पार्टीहरु, जुन नेताहरु, जुन व्यक्तिहरु पुरानै समाजमा दुईचार वटा सुधारका कुरा गरेर भोट तान्ने मात्रै राजनीति गर्ने तिनीहरुलाई त केही फरक परेको छैन । दलितहरु दलित नै रहिराखुन्, बाहुन क्षेत्री बाहुन क्षेत्री नै भइराखुन्, माथि नै भइराखुन् । शासन गर्ने अधिकार माथिकालाई मात्र हुन्छ भन्ने पार्टी छन् । तिनीहरुको लागि त केही फरक परेको छैन बरु राम्रो भएको छ । तिनीहरुले यो संघीयता उल्ट्याउन चाहेका छन् । यो जातिय विभेदको अन्त्य गर्ने भनेर भएको बिद्रोहलाई बदनाम गर्न चाहेका छन् । सबैले मिलेर प्रचण्डलाई अपराधि नै हो भनाउन चाहेका छन् । यसले चाहीँ दलितहरुलाई उठाएर हामीलाई हैरान पार्यो । आदिवासी जनजाति उठाएर, महिलालाई ३५ प्रतिशत रे, केके रे भन्दिएर ।’ उनले कतिपयले जातिय विभेदको अन्त्य गर्न भनि भएको बिद्रोहलाई बदनाम गर्न र संघीयता उल्ट्याउन चाहेको पनि बताए ।
प्रतिक्रिया