काठमाडौं, ७ कार्तिक । सर्वोच्च अदालतका १४ जना न्यायाधीशले भोलि नेपाल बार एशोसिएशनसँग राखेको फुलकोर्ट बैठकमा नबस्ने निर्णय गरेका छन्।
प्रधानन्यायाधीशको कारणले समग्र न्यायपालिका विवादमा तानिएको भन्दै आइतबार अदालतमा उपस्थित १४ जना न्यायाधीशको बैठकले यस्तो निर्णय गरेको हो।आइतबार प्रधानन्यायाधीशसँग नेपाल बारको छलफलले भोली फूर्लकोट राख्ने तय भएको थियो। दिउँसो २ बजेदेखि न्यायाधीश दीपक कार्कीको संयोजकत्वमा बसेको छलफलको बीचमै प्रधानन्यायाधीशले सोमबार फुलकोर्ट बैठक राखेको नोटिस पाएपछि उनीबारे धारणा बनाउने विषय मोडिएको एक न्यायाधीशले बताए। त्यसपछि बारसँग राखिएको फुलकोर्ट बैठकमा बस्ने कि नबस्ने भन्ने छलफल भयो अनि हामी १४ जना नै भोलिको बैठकमा उपस्थित नहुने निर्णय गर्यौं,उनले भने, हामी १४ जनाको छलफल भोलि ११ बजेदेखि नै निरन्तर हुन्छ।
उक्त बैठक चलुन्जेल न्यायाधीशहरू इजलासमा नबस्ने उनले बताए। आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणासहित १५ न्यायाधीश हाजिर थिए।न्यायाधीशहरू दीपक कार्की, मिरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, वमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीले बारको बैठकमा उपस्थित नहुने निर्णयमा सामेल थिए।
प्रतिक्रिया