दिउँसै गोठमा छिरेर बाघले चौपाया मारेर खान थालेपछि स्थानीय बासिन्दा त्रसित

कञ्चनपुर, ७ कात्तिक । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ भने सोही ठाउँका शङ्करदत्त भट्टको गोठमै रहेको बाच्छीलाई घाइते बनाएको छ । तीन दिनअघि मात्रै बस्नेतको गोठमै छिरेर बाघले गोरु मारेको थियो ।

“विगतमा रातिमात्रै बस्तीमा बाघ आएको सुन्ने गरेका थियौँ”, स्थानीय विमल धामीले भने, “अब बाघले दिउँसै बस्तीमा छिरेर गोठामा बाँधेका चौपाया मारेर खान थालेको छ, दुई साताको अवधिमै बाघले यस क्षेत्रका आधा दर्जन बढी किसानले पालेका बाख्रालगायत चौपाया मारेर नोक्सानी गरेको छ ।” साँझ नपर्दै बस्तीमा बाघ देखापर्न थालेपछि स्थानीय बासिन्दा त्रसितसमेत भएका छन् । साँझअगावै स्थानीय बासिन्दाले बाघकै डरले गाउँमा हिँडडुल गर्नसमेत बन्द गरेका छन् ।

बाघले चौपायामा क्षति पुर्‍याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई अनुरोध समेत गरेका छन् । बाघ नियन्त्रणका लागि हालसम्म कुनै पनि प्रयास हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ । बाघसँगै बँदेल, हात्तीले समेत यस क्षेत्रका बासिन्दाले लगाएको बालीनालीमा नोक्सानी पुर्‍याउँदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति