पाँच दलीय गठबन्धनले प्रतिगमनको नेतृत्व गरेको छ : अध्यक्ष ओली

काठमाडौँ, ६ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन् । शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअल विधिबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले तीन महिनाको अवधिमा पाँच दलीय गठबन्धनको असली रुप देखिएको बताए । ‘प्रतिगामी शक्तिहरु अहिले गठबन्धनको नाममा आइरहेका छन्, यसमा कुनै भ्रम रहनु हुँदैन, दुविधामा रहनु हुँदैन, यो तीन महिनामा देखिइसकेको छ, देशलाई अस्थिरतामा धकेल्ने, देशलाई अग्रममनमा जान नदिने’ ओलीले भने, ‘स्वेच्छाचारी, मनपरीतन्त्र देशमा लागू गर्ने अनुशासनहीनता अराजकता राज्यस्तरबाटै गर्ने यसप्रकारका क्रियाकलाप हामीले देखिरहेका छौं, यो विपरीत बाटो हो प्रतिगमनतर्फको बाटो हो ।’ अहिले प्रतिगामी गतिविधिको नेतृत्व पाँच दलीय गठबन्धनले गरेको ओलीले आरोप लगाए ।

‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढाल्ने, प्रतिक्रियावादीको पाउमा सेवा अर्पण गर्ने, दक्षिणपन्थी जनविरोधी, दिशाहीन सरकार स्थापना गर्ने काम भएको छ’ उनले भने ।अध्यक्ष ओलीले गत असोज १५ र १६ गते भएको विधान महाधिवेशन सर्वसम्मत रुपमा भएकामा विरोधीहरु अचम्ममा परेको बताए । छ हजार प्रतिनिधिबीच सौहाद्र्धपूर्ण छलफल देखेर विरोधीहरुले व्यक्तिको पार्टीजस्तो भएको भनेर लान्छना लगाएको पनि ओलीले टिप्पणी गरे ।

यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ ।

चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ । एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति