विराटनगर विमानस्थल खुल्यो, साँझ ५ बजेसम्म उडान हुने


विराटनगर, ६ कार्तिक । अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द विराटनगर विमानस्थलको हवाई सेवा आज बिहानबाट सुचारु भएको छ । बिहान ७ बजेबाट विराटनगर विमानस्थल खुला भएको हो । विमानस्थल खुला भएसँगै यहाँबाट हुने नियमित उडानहरु खुला भएको विराटनगर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । कात्तिक महिनाको प्रारम्भसँगै परेको अविरल वर्षाका कारण विराटनगर विमानस्थलमा पानी जमेर डुबान भएको थियो ।

विमानस्थलहुँदै बग्ने बस्ता खोला, त्यसभन्दा पश्चिमको केशलीया नदी र पूर्वको सुनसरी मोरङ सिंचाइ योजनाको नहरबाट ओभरफ्लो भएको पानी विमानस्थलमा जमेको थियो ।अधिक वर्षाले विमानस्थलको धावनमार्ग, ट्याक्सि वे र प्रवेशस्थल पुरै जलमग्न बनेको थियो । शुक्रबार साँझसम्म धावनमार्गमा जमेको लेदो हटाउने काम सकिएको र आजबाट नियमित उडान सुचारु गर्न आवश्यक सबै तयारी पुरा भएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले जानकारी दिए ।

प्रमुख खरेलका अनुसार आजबाट केही दिन बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मात्र उडानहरु हुनेछन् । धावनमार्गको लाइटिङ्ग सिस्टममा समस्या आएका कारण साँझ ५ बजेपछिको उडानहरु तत्काल गर्न नसकिने प्रमुख खरेलले बताए । मौसमको अवस्था, धावनमार्ग र विमानस्थलको अवस्था अनुसार उडान समय बढ्न सक्ने बताइएको छ । हिउँदको समयमा विराटनगर विमानस्थलबाट साँझ ढिलोसम्म उडान हुने गरेको छ ।नियमित उडान गर्दै आएका विमान कम्पनीहरुले बिहीबारदेखि नै शनिबारका लागि टिकट बिक्री खुला गरिसकेका थिए । विराटनगर विमानस्थलमा बुद्ध एयरले दैनिक नौं, यति एयरले पाँच, सौर्य एयसरले चार, श्री एयरले चार र गुण एयरले एउटा उडान गर्दै आएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति