आज नेकपा एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दै

काठमाडौं, ६ कार्तिक । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन हुँदैछन्।वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने भएको छ।एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ।यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ।चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ।

एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति