काठमाडौं, ५ कार्तिक । नेकपा एमालेले यही कार्तिक १२ गते पार्टी केन्द्रिय कमिटीको बैठक बोलाएको छ । शुक्रबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयन सम्बन्धि मापदण्ड तय गर्न पार्टी केन्द्रिय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । बैठकले रामबहादुर थापा नेतृत्वको २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटीलाई पनि १ सदस्य पछि थप गर्ने गरी पूर्णता दिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।
उनले भने , ‘राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि हामीले २०७७ साल चैत्र मसान्तसम्म सदस्य बनेका र नविकरण गरेका सदस्यहरु योग्य रहने निर्णय गरेका छौं । यो कुरा आज टुंगो गरेका छौं । राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेशिन प्रयोग गर्ने निर्णय पनि गरिएको छ । त्यो सम्बन्धमा आवश्यक्त प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको छ । राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयन सम्बन्धि मापदण्ड तय गर्न र अन्य यस विषयमा आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक आगामी कार्तिक ११ गते र केन्द्रिय कमिटीको बैठक कार्तिक १२ गते बस्ने निर्णय गरिएको छ । एमालेले रामबहादुर थापा नेतृत्वको महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । जसमा संयोजक रामबहादुर थापा बादल, सहसंयोजक सुरेन्द्र पाण्डे, विष्णु रिमाल सचिव पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दिपक देवकोटा सदस्य रहनु भएको छ र एक सदस्य पछि मनोनयन गरिनेछ । यसरी २१ सदस्यीय मूल व्यवस्थापन समिति बनेको व्यहोरा म यहाँहरुलाई जानकारी गराउँदछु । राष्ट्रिय महाधिवेशनमा हामीले विभिन्न मुलुकका हाम्रा मित्र पार्टीहरु, भाईचारा पार्टीहरु र देशभित्रका राजनीतिक दलहरुलाई नियन्त्रण गर्ने निर्णय पनि गरेका छौं ।’
बैठकले १० बूँदे सहमती आम रुपमा कार्यान्वयन भएको निष्कर्ष निकाल्दै कार्यान्वयन हुन बाँकि रहेका ठाउँहरुमा आगामी केन्द्रिय कमिटीको बैठकसम्म कार्यान्वयन गरिसक्न पनि सम्बन्धित कार्य दललाई निर्देशन दिएको छ । त्यसैगरी रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समिरलाई पार्टी केन्द्रिय सदस्य मनोनित गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता ज्ञवालीले भने, ‘महाधिवेशन सम्बन्धि यी निर्णयहरुका अतिरिक्त आजको बैठकले १० बूँदे प्रस्तावको कार्यान्वयनको शिलशिलामा सो प्रस्ताव आमरुपमा कार्यान्वयन हुँदै गएको आम रुपमा यो कार्यान्वयन भएको तर एकाध ठाउँमा समस्या रहेको हुँदा ती कार्यान्वयन हुन बाँकि रहेका ठाउँमा केन्द्रिय कमिटीको आगामी बैठकसम्ममा यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
तदअनुरुप सम्बन्धित कमरेडहरुलाई यस सम्बन्धि निर्देशन दिने कामहरु पनि भएको छ । र आजको बैठकले रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समिरलाई पार्टी केन्द्रिय सदस्यको रुपमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । साथसाथै बैठकले अस्वस्थ भएर अस्पताल भर्ना हुनु भएका पार्टीका सचिव योगेश भट्टराईको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ भने हालै दिवंगत हुनु भएका पार्टीका पुराना नेता ओम कोईरालाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ ।’ बैठकले विरामी भई अस्पताल भर्ना हुनु भएका पार्टीका सचिव योगेश भट्टराईको शिघ्र स्वास्थ्यलाभको कामना गरेको र हालै दिवंगत भएका पार्टीका पुराना नेता ओम कोइरालाप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेको एमालेले जनाएको छ ।
प्रतिक्रिया