काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) सुनसरीमा पुन विवाद देखिएको छ । वडा अधिवेशनको मुखमै १० बुँदे सहमतिको कार्यान्वयन गर्ने विषयले विवाद बढ््दै गएको छ। संस्थापन पक्षका अध्यक्ष रहेका रेवती रमण भण्डारी नेतृत्वको कमिटीले वडा अधिवेशनको सन्दर्भमा सर्कुलर जारी गरेपछि जेठ २ अघि अध्यक्ष रहेका रमेश बस्नेतले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।
सुनसरी अध्यक्ष रमेश बस्नेत एमाले विभाजन हुनुपूर्व माधवकुमार नेपाल पक्षमा रहेका कारण विवाद चल्दै आएको थियो। एमाले सुनसरी अध्यक्ष रेवती रमण भण्डारीले जेठ २ अघिको संरचनामा जान यसअघि नै असहमति जनाएपछि सुरु देखिनै विवाद चल्दै आएको थियो।
पछिल्लो समय मुख्यमन्त्री भीम आचार्यको नजिक मानिएका बस्नेतले असोज ३ गतेको मिति राखेर रेवती रमण भण्डारीले नेतृत्व गरेको कमिटी अवैधानिक भएको दाबी गरेको छन्। सुनसरी इन्चार्ज धर्मराज निरौला र रमेश बस्नेतले जारी गरेको विज्ञप्तिमा जेठ २ लागू भएको वडा र नगर कमिटीमा मात्र सहमतिको आधारमा अधिवेशन गर्नुपर्ने उल्लेख गरेका छन्।
अन्तर पार्टी निर्देशन र पार्टी माथिल्लो कमिटीले समेत पुरानै कमिटीलाई मान्यता दिएको भन्दै विज्ञप्तिमा कार्यकर्ताहरूलाई अन्योल नहुन आग्रह गरेका छन्। पार्टीकै आधिकारिक लेटरप्याडमा एउटा कमिटीले सर्कुलर र अर्को कमिटीले सर्कुलर वैध नभएको विज्ञप्ति जारी गरेपछि कार्यकर्ताहरू अन्योल भएका छन्। बस्नेतले विज्ञप्ति निकालेर अन्योल नहुन भने पनि कार्यकर्ताहरूलाई भने थप अन्योल बढेको हो।
प्रतिक्रिया