धनगढी, ५ कात्तिक । बैशाखमा अर्ली इलेक्सनको बहस चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसबारे सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन् । कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू एक्लैले भनेर नहुने भन्दै यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका हुन् ।
पत्रकारहरुहरुले अर्ली इलेक्सनको सम्भावनाबारे सोधेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही नेताहरुले पहिले बैशाखमा संघको निर्वाचन गरेर मंसिरमा स्थानीय तह र प्रदेशको निर्वाचन गराउनुपर्ने मत राख्दै आएका छन् । कांग्रेसका कतिपय नेताहरुले १४ औं महाधिवेशन सम्पन्न गरेलगत्तै ताजा जनादेशका लागि बैशाखमा संघको निर्वाचन गर्नुपर्ने आवाज उठाउने गरेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि केही दिन अगाडि अर्ली इलेक्सनको कुरा गरेका थिए । अर्ली इलेक्सनको बहस चले पनि बैशाख अघि स्थानीय तहको चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता छ ।
उनले पत्रकारहरुसंगको छलफलमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् । बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् । ‘एमसीसी सहयोग परियोजना हो, यो परियोजनामा नेपालकै कानुन लागू हुन्छ । अमेरिकी कानुन लागू हुन्छ भन्ने कुरा साँचो होइन,’ उनले भने ।५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन । प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएपछि राहत प्याकेज घोषणा गर्ने बताए ।
प्रतिक्रिया