जनकपुर, ४ असोज । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार भएको छ । सिके राउतको जनमत पार्टीका कार्यकर्ताले बिहीबार कार्यालयबाटै कुशवाहालाई बन्धक बनाएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका हुन् । जनकपुरमा ढल निकासको उचित प्रबन्ध नगरेको झोंकमा सो पार्टीका करिब दुईसयको संख्यामा रहेका कार्यकर्ताले प्रमुख कुशवाहालाई पिराडी चोकस्थित कार्यालयमा पुगेर बन्धक बनाएका थिए । सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म परेको वर्षाले जनकपुर जलमग्न भएपछि राउत समर्थक कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख कुशवाहालाई नियन्त्रणमा लिएर आक्रोश पोखेका हुन् ।
आफ्नो कार्यकक्षमा बसिरहेका प्रमुख कुशवाहालाई लाठी र बाँसको भाटा बोकेर पुगेका राउत समर्थकले बन्धक बनाएर लछारपछार गर्दै जनकपुर घुमाएका थिए ।
सरकारी कार्यालयका प्रमुखलाई बन्धक बनाएर नगर घुमाइरहँदा प्रहरी भने प्रदर्शनकारीको अघिअघि मात्रै हिँडिरहेका थिए । ठूलो संख्यामा प्रहरी परिचालन गरिएपनि प्रमुख कुशवाहालाई राउत समर्थकले दुर्व्यवहार गरिरहे । प्रमुख कुशवाहाले लगाएको टिसर्ट पनि राउत समर्थकले च्यातिदिए ।
‘मलाई गोली ठोकेपनि केही बोल्दिनँ,’ पत्रकारसित बोल्न राउत समर्थकले दबाब दिएपछि प्रमुख कुशवाहाले रुदै यति मात्रै बोले । त्यहाँ प्रहरीले प्रमुख कुशवाहालाई उनीहरुको कब्जाबाट थुतेर उपमहानगरपालिकाको कार्यालयभित्र लगेर सुरक्षित गरेका थिए । ‘सरकारी कार्यालयका प्रमुख कुशवाहालाई राउत समर्थकले सँगै घुमाएपछि प्रहरीले उनलाई सुरक्षित ठाउँमा राखेको छ,’ धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले भने,‘कार्यालय प्रमुखलाई दुर्व्यवहार गर्ने १० जना राउत समर्थकलाई पक्राउ गरिएको छ ।
जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।
खनिएको खाल्डो त्यसै छाडिएको छ भने निर्माण अघि नबढाएको विषयमा उपमहानगरपालिका र खानेपानी तथा ढल निकास कार्यालयले एक अर्कालाई दोष दिने गरेका छन् ।
प्रतिक्रिया