न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण पश्चिमबाट पूर्वतर्फ सर्‍यो वर्षाः माैषमविद्

काठमाडौँ, ३ कात्तिक । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।

गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ । आज रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश १, २, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना छ ।

भोलि बिहीबारबाट भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उनले बताए । उनको अनुसार आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जाने छ । हाल देशको प्रदेश १, २, बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको जलतथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भएको छ । ती प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति