प्रधानमन्त्रीद्धारा बाढीपहिरो प्रभावितलाई तत्काल राहत र उद्धार गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौं , २ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । लगातारको झरीले देशका विभिन्न नदीनालामा बाढी आएको छ ।


आज मङ्गलवार बिहान प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाणलाई यो निर्देशन दिएका हुन् । त्यसपछि गृहमन्त्री खाणले विपद्को जोखिम कम गर्न र विपद्जन्य घटनाबाट मानिसको ज्यानको सुरक्षा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिइ काम गर्न सबै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । सुरक्षा निकाय र प्रभावित जिल्लाका सम्बद्ध स्थानीय प्रशासनहरू विपद् व्यवस्थापन कार्यमा जुटेका छन् । विभिन्न जिल्लामा मानिसहरू फसेको क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धारको अनुरोध आएको र त्यही मागअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

गत असोज ३१ गतेदेखि देशभर मौसम बदली भइ नेपालको पश्चिम क्षेत्र बढी प्रभावित बनाएको छ । सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला र तिनका सहायक नदीमा बाढी आएको छ ।

विपद्का कारण डडेल्धुरा र कालीकोटमा एक/एकजनाको मृत्यु र एक/एकजना घाइते भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा २०० घर डुबानमा परेका छन् । सोही क्षेत्रका बासिन्दाको उद्धार प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।


महाकालीको बहाव उच्च रहेको र आसपासका क्षेत्रका जोखिम बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सारिएको प्राधिकरणकाप प्रमुख पोखरेलले बताए । बझाङको एक गाउँपालिकाको प्रहरी कार्यालय नै डुबानमा परेको र प्रहरी सुरक्षित ठाउँमा सरेका जनाइएको छ ।


कर्णालीको बहाव बढेपछि बर्दियाका केही तटीय क्षेत्रका मानिस प्रभावित भएका छन् । प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिराका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । भोलिसम्म नै वर्षाको सम्भावना रहेकाले सुरक्षित भएर बस्न मन्त्रालयले स्थानीय नागरिकमा अनुरोध गरेको छ ।


विभिन्न क्षेत्रमा काटेर राखेको धान नै वर्षा र बाढीले डुबाएको छ । भित्रिने बेलाको धानमा क्षति पुगेपछि किसान नराम्ररी प्रभावित भएका छन् । हाल बङ्गालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ ।


आज पनि सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान, प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति