विजयादशमीको आज चौथो दिन पनि टीका लगाइँदै

काठमाडौं, १ कार्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ ।
यस वर्ष कात्तिक २ गते मङ्गलबार (भोलि) कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस दिनसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात नेपालीको महान पर्व बडा दसैँ समाप्त हुन्छ ।

बडा दसैँ मनाउन काठमाडौँ उपत्यकाबाहिर गएका मानिस राजधानी प्रवेश गर्ने क्रम पनि बढ्न थालेको छ । योसँगै सुनसान बनेको काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति