काठमाडौं, ३१ असोज । रक्षा मन्त्री डा मिनेन्द्र रिजाल सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन् । आज आइतवार उनले जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नुका साथै विविध विषयबारे जानकारी लिएका हुन । रक्षा मन्त्री रिजाललाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डामा स्वागत गर्दै अहिलेसम्म नेपाली सेनालाई नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरे ।
प्रधान सेनापति महारथी शर्माले रक्षा मन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकीकरण र पेसागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा रक्षा मन्त्री रिजाललाई नेपाली सेनासम्बन्धी विविध पक्षमा केन्द्रित रही प्रस्तुतीकरण भएको थियो ।
प्रस्तुतीकरणपछि रक्षा मन्त्री रिजालले आफू यस पदमा नियुक्त भएकोमा गौरव महसुस गरेको बताए । उनले नेपाली सेनाले देशभित्र विपद् व्यवस्थापन र कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्य तथा देशबाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरे । साथै उनले आफ्नो कार्यकालभरि राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रहने तथा नेपाली सेनाले प्राथमिकतामा राखेका कामको कार्यान्वयनमा स्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
प्रतिक्रिया