काठमाडौं, २२ असोज । कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले दिल्लीमा भाजपा अध्यक्ष जयप्रकाश नड्डालाई भेटेर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट नेपाल भ्रमणको निम्तो दिएको छ । नड्डाले नेपाल भ्रमणका लागि इच्छुक भएको भन्दै उपयुक्त समयको पर्खाइमा रहेको जवाफ दिएका छन्।महतसहित नेताहरू उदयशमशेर राणा र अजय चौरसियाको टोलीले बिहीबार नड्डा र विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत नेताहरूसँग भेट गरेको हो । टोली बिहीबार नै दिल्ली पुगेको थियो । ‘प्रधानमन्त्री एवं पार्टी सभापतिका तर्फबाट भाजपा अध्यक्षज्यूलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको छ । उहाँले नेपाल भ्रमणका लागि इच्छा देखाउँदै उपयुक्त समयको पर्खाइमा रहेको जवाफ दिनुभएको छ,’ भेटवार्तापछि डा. महतले भने । दुई पार्टी र देशबीच एक–अर्कालाई नजिकबाट बुझ्न यो भ्रमण भएको विषयमा छलफल भएको पनि उनले बताए ।
भारतीय जनता पार्टीले पनि दुई पार्टी र देशबीच सम्बन्ध थप सुदृढ बनाउने विषयमा कांग्रेस प्रतिनिधिमण्डलसँग छलफल भएको जनाएको छ । भाजपाले दुई पार्टीबीच विभिन्न आयाममा सम्बन्ध सुदृढ गर्ने विषयमा अन्तक्र्रिया भएको जनाएको छ । अध्यक्ष नड्डाले नेपाल–भारत सम्बन्ध थप सुदृढ गर्नुपर्ने विषयमा जोड दिएको भाजपाले ट्विटरमा जनाएको छ । नेपाली प्रतिनिधिमण्डलले शुक्रबार भारतीय विदेशमन्त्री डा. एस जयशंकर र भाजपाका शीर्ष नेतासँग भेटवार्ता गर्ने तय भएको छ । यसैगरी टोलीले शनिबार उत्तरप्रदेशको लखनउ पुगेर मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
दिल्ली पुग्यो कांग्रेस प्रतिनिधिमण्डल
प्रतिक्रिया