राजनीतिक आडमा ठगी गदै आएका इच्छाराज तामाङ सहित सिभिल सहकारीका १२ जना पक्राउ (यस्तो छ तामाङको नालीवेली)

काठमाडौं, १९ असोज । सहकारीका सञ्चालक तथा कर्मचारीले सङ्गठितरुपमा नै सहकारी ठगी गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)का अनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको छ ।
उनीहरुले काठमाडौंको सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेडमा जम्मा भएको रकममा ठगी गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।पक्राउ पर्नेमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ, हालका सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक सहजकर्ता भगवानबहादुर सिंह, जुनियर असिष्टेन्ट म्यानेजर मायोनानी महर्जन र एलिना तुलाधर रहेका छन्।

यस्तै जुनियर अधिकृत शङ्करप्रसाद पाठक, असिसटेन्ट सङ्गीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर साहयक प्रबन्धक बुद्धराज तामाङ र कौस्तुभकेतन ढुङ्गाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्वलेखा समिति सदस्य हरिहर लामिछानेलाई पनि पक्राउ गरिएको ब्यूरोले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।उक्त सहकारीका सदस्यले बचत तथा मुद्दती खातामा जम्मा भएको रकम निकाल्न पटकपटक ताकेता गर्दा उपलब्ध नगराई ठगी गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।

उनीहरुले बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्रावधानविपरीत एकै व्यक्ति संस्थापक रहेको विभिन्न परियोजनामा लगानी गरेको र वेथिति बढ्दा उक्त लगानीबाट लाभसमेत प्राप्त गर्न नसकेको ब्यूरोले जनाएको छ । तर, सहकारीले भोलि दिन्छु र पर्सि दिन्छु भन्न छाड्दैन । सबै निक्षेपकर्ताको रकम तिर्ने भन्दै आश्वासन पनि दिन्छ । तर, त्यो कबुल गरेको भोलि पर्सि कहिले आएन । नेकपा एमालेका शक्तिशाली व्यक्ति मानिएका इच्छाराज तामाङले एमालेकै आड भरोसाको कारण साढे चार बर्षदेखि बचतकर्ता अल्मल्याउन सफल भए । उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद थिए । बचतकर्ताहरु फसेको रकम उठाउन फेरि जुर्मुराएका छन् । तामाङलाई प्रहरीले पनि खोजी प्रक्रिया तीब्र बनाएको थियो । सत्ता र शक्तिको दुरुपयोग गरेर सर्वसाधारणको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाएका इच्छाराज तामाङ अन्तत पक्राउ परेका छन् ।

ब्युरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार ४६ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा तामाङविरुद्ध ७५ जनाले उजुरी दिएका थिए । बाँकी ४५ जना पनि मंगलबार तामाङविरुद्ध उजुरी लिएर ब्युरो पुगेका थिए । त्यसकै आधारमा तामाङलाई पक्राउ गरिएको डीआईजी सिंहले बताए ।

२०५५/५६ ताका तामाङले आफू अध्यक्ष रहेको सिभिल सहकारी खोलेका थिए । करिब १० वर्षसम्म उनी सहकारीको अध्यक्षमा बसे । त्यसक्रममा उनी सहकारीको अध्यक्ष र लोन शाखा प्रमुख बनेका थिए । यसबीचमा तामाङले सिभिल ग्रुपमार्फत हाउजिङ र जग्गा कारोबारलगायतका कम्पनी पनि खोलेका छन् । त्यसका लागि आफ्नै सहकारीबाट ऋण लिए । जग्गा धितो राखेर ऋण लिए पनि धितो राखिएकै जग्गामा कानुनविपरीत घर बनाएर बेचेको आरोप पनि उनीमाथि छ । सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

सिभिल सहकारीबाटै ऋण लिएर सिभिल होम्सअन्तर्गत करिब १ हजार १ सय घर बनाएर बेचेको तर सहकारीको ऋण तिर्न नमानेको आरोप छ । २०६७ मा सिभिल बैंक स्थापना भएपछि उनी बैंकको अध्यक्ष बने । त्यसपछि सहकारीको नेतृत्व नातामा मामाससुरा पर्ने केशवलाल श्रेष्ठलाई सुम्पिए । श्रेष्ठलाई सहकारीको लोन शाखा प्रमुख पनि बनाइयो । निकट व्यक्तिलाई लोन शाखामा राखेर उनले आफूले भनेअनुसार रकम लेनदेन गर्न सहज बनाएका थिए ।

तर, सहकारीका बचतकर्ताको रकम हिनामिना हुने क्रम रोकिएन । रकम हिनामिनापछि सीआईबीमा उजुरी दिनेमध्येका एक डिल्लीप्रसाद भट्टराईका अनुसार सिभिल सहकारीका २२ सयभन्दा बढी बचतकर्ताको ८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ साँवा र त्यसको ब्याज तामाङले तिर्न बाँकी छ । सहकारीबाट तामाङले मात्रै सिभिल ग्रुपअन्तर्गतका विभिन्न संस्थामा ९० प्रतिशत बढी ऋण लिएको तर बचतकर्ताले पैसा फिर्ता माग्दा नदिएको भट्टराईले बताए । आफूले मात्रै उक्त सहकारीमा ८३ लाख रुपैयाँ जम्मा गरेको उनले बताए । ‘बैंकमा भन्दा सहकारीमा केही बढी ब्याज दिने लोभ देखाइयो, त्यसपछि बैंकमा भएको रकम झिकेर उता जम्मा गर्‍यौं तर अहिले आफ्नै पैसा देऊ भन्दा पनि ठगी भयो,’ उनले भने ।आफूहरू बाध्य भएर ठगीको उजुरी लिई प्रहरीमा पुगेको बताए । ब्युरो प्रमुख सिंहले तामाङले सहकारीको नीतिविपरीत बचतकर्ताको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढाइने सिंहले जानकारी दिए । सीआईबीको प्रारम्भिक सोधपुछमा तामाङले पीडितलाई रकम फिर्ता गर्ने बताएका छन् तर पक्राउ पुर्जी लिएर आरोपितलाई नियन्त्रणमा लिइसकेको भन्दै ठगीमा अनुसन्धान अघि बढेको र कानुनले नै सबै कुराको छिनोफानो गर्ने ब्युरोले जनाएको छ ।

यस्तो छ उनको विगत

२०४७ सालको परिवर्तनपछि नेपालमा सहकारी संस्थाको अवधारणा आयो। त्यसअघि एकआपसमा ऐंचो–पैंचो, सापटी वा ढुकुटीजस्ता माध्यमबाट मानिसहरू आफ्नो आर्थिक समस्या टार्थे। पहिलो जनआन्दोलनपछि सत्तामा उक्लिएको कांग्रेसले निजीकरण र सहकारी सँगसँगै अघि बढायो।२०५१ सालमा तत्कालीन नेकपा एमालेले ‘गाउँ–गाउँमा सहकारी, घर(घरमा रोजगारी’ भन्ने नारा अघि बढाएपछि सहकारी संस्था खुल्ने क्रम बढ्यो।सहकारीमा उदारता आएपछि पुर्ख्यौली घर ओखलढुंगा भएका इच्छाराज तामाङले काठमाडौंमा सिभिल बचत तथा ऋण सहकारी संस्था खोलेका थिए।पुल्चोक इन्जिनियरिङ कलेज पढ्दा र पढाउँदाका साथीभाइसँग मिलेर उनले काठमाडौंमा सिभिल सहकारी खोले। पुल्चोकका ‘सरहरू’ले खोलेको भनेपछि सिभिल सहकारीमा मानिसको विश्वास बढ्यो। ग्राहक र बचत बढ्दै गयो। बचत बढेपछि त्यसको ब्याज कसरी दिने भन्ने चुनौती थपियो। तामाङले साथीभाइसँग मिलेर घर बनाएर बेच्ने आइडिया निकाले। काठमाडौंमा कम्पनी बनाएर घर र अपार्टमेन्ट बेच्ने काम भर्खर चलनचल्तीमा आउन थालेको थियो। तामाङले सिभिल होम्स कम्पनी खोले, त्यसमार्फत् भैंसेपाटीमा केही घर बनाएर बेचे। त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन। काठमाडौंका आधा दर्जन धेरै ठाउँमा सिभिल होम्सका कोलोनी बने। सुन्धारामा दुइटा सपिङ कम्पलेक्स खुले। सिभिल बैंकसहित सभिल समूहसँग २१ वटा कम्पनी छन्। यो समूहको अर्बौंको कारोबार र सम्पत्ति छ।

ब्युरोका अनुसार तामाङको नेतृत्व स्थापना भएको सिभिल सहकारीमा अहिले केशवलाल श्रेष्ठ अध्यक्ष छन्। सिभिल सहकारीमा तामाङ १० वर्षसम्म अध्यक्ष थिए। जब २०६८ सालमा सिभिल बैंक स्थापना भयो, वित्तीय ऐनअनुसार एउटै व्यक्ति दुई वटा वित्तीय संस्थाको अध्यक्ष रहन नपाउने नियमले उनले सहकारीमा श्रेष्ठलाई अघि सारेका थिए। श्रेष्ठ उनका इन्जिनियरिङ पढ्दाका साथी हुन्। पछि तामाङले श्रेष्ठकी नाता पर्ने सिर्जना शाक्यलाई बिहे गरेपछि उनीहरूबीच पारिवारिक सम्बन्ध स्थापित छ। ‘उनले तिर्नुपर्ने सहकारीका निक्षेपकर्ताको ऋण अर्बौं छ भन्ने कुरा छ, हामीकहाँ जाहेरी आइरहेको छ, बुझ्दैछौं,’ डिआइजी सिंहले भने। बचतकर्ता तथा पीडित संघका सदस्य डिल्लीप्रसाद भट्टराईका अनुसार झन्डै २५ सय बचतकर्ताको निक्षेप फिर्ता भएको छैन।

‘कोही रिटायर्ड कर्मचारी छन्, बृद्धबृद्धा छन्, उनीहरूले आफूले राखेको पैसा वर्षौंदेखि पाएका छैनन्,’ भट्टराई भन्छन्, ‘सहकारीको निक्षेप फिर्ता नहुँदा रोगीहरूले उपचार गर्न पाएका छैनन्, पैसा नपाएर घरमा लोग्ने(स्वास्नीको मारामार र पारिवारिक विग्रह छ।’तामाङमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ। विभागले तामाङलाई ठगी मुद्दामा अनुसन्धान गर्न सकिने राय प्रहरीलाई दिएपछि सिभिल ग्रुपमा ब्युरोले हात हालेको हो। यता विभाग तामाङको चलअचल सम्पत्तिको फाइलमाथि विस्तृत अनुसन्धान भइरहेको बताउँछ। पक्राउ पर्नुअघि तामाङ विभागमा बयान पनि दिइरहेका थिए। हालसम्मको अनुसन्धानअनुसार तामाङले ९ अर्ब बढी रकम सिभिल सहकारीबाट ऋणको रूपमा निकालेका छन्। त्यो रकम उनको व्यक्तिगत खातामा गएको छैन। उनले स्थापना गरेका कम्पनीका नाममा त्यो ऋण परिचालन भएको छ। ‘९ अर्बमध्ये ७ अर्ब सिभिल होम्स कम्पनीको नाममा गएको देखिन्छ,’ विभाग स्रोतले भन्यो, ‘बाँकी २ अर्ब बढी ऋण अरू कम्पनीका नाममा छन्।’ विभाग स्रोतका अनुसार तामाङ सञ्चालक रहेका २१ वटा कम्पनीले कारोबार गरिरहेका छन्। तीमध्ये सबैभन्दा बढी सिभिल होम्समा सहकारीको पैसा गएको देखिएको हो। सिभिल होम्स राजधानीमा निकै लोकप्रिय हाउजिङ कम्पनी हो। ललितपुर भैंसेपाटीबाट सुरू भएको सिभिल होम्स सुनाकोठी, धापाखेल, रामकोट हुँदै चरणवद्ध रूपमा १० ठाउँमा फैलिइसकेको छ।२०६३ सालदेखि सुरू भएको सिभिल होम्सको कारोबार लालकाजी गुरुङले हेर्छन्।‘आफ्नै सहकारीबाट आफूले स्थापना गरेका कम्पनीमा ऋण प्रवाह गरेको तर त्यो ऋण फर्काउन नसकेको बुझिएको छ,’ ब्युरो प्रमुख सिंहले भने, ‘अनुसन्धान नगरीकन अहिले यति छ भनेर भन्न सकिएन।’निकटस्थहरूका अनुसार तामाङ २०५० पछि काठमाडौं फर्केर अध्यापनसँगै व्यवसायमा छिरेका हुन्। त्योभन्दा अघि उनी छातवृत्तिमा इन्जिनियरिङ पढ्न रसिया पुगेका थिए।पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियर पढ्दा उनी ‘ब्याच टपर’ थिए। उदयपुरमा एसएलसी दिँदा उनी ‘जिल्ला टपर’ भएका थिए।तामाङ साधारण परिवारका हुन्। ओखलढुंगा पुर्ख्यौली घर भएका उनी सानै उमेरमा आफ्ना बुवासँग सिंगापुर पुगेका थिए।बुवा सिंगापुर प्रहरीमा रहेकाले पुलिस क्याम्पमै बसेर पढेका तामाङ माध्यमिक शिक्षा पढ्न भने नेपाल फर्केका थिए। त्यतिबेला उनको परिवार ओखलढुंगाबाट उदयपुर बसाइँ सरिसकेको थियो।२०५२ सालमा उनको काठमाडौंमा कामेन इन्जिनियरिङ कन्सल्टेन्सी थियो। त्यसपछि उनले बाघभैरव कन्सल्टेन्सी खोले। दुबै कम्पनीले निर्माणसम्बन्धी काम गर्थे।२०५७ सालमा सहकारी नै खोलेपछि भने उनको कारोबार मौलाउँदो देखिन्छ। उनले २०६० सालतिर सिभिल होम्स खोले, जसमा लगानी गर्नका लागि सिभिल सहकारीले अनुमति नै पाएको थियो।‘सहकारीले हाउजिङमा लगानी गर्न अनुमति पाएपछि सिभिल होम्स आएको देखिन्छ,’ विभागका एक अनुसन्धान अधिकृतले भने।

हाउजिङ कम्पनी स्थापनादेखि हालसम्म पनि घाटामा रहेको अडिट रिपोर्टमा देखिएको ती अधिकृतले बताए।‘एकातिर घाटामा देखिन्छ, अर्कोतिर सिभिल होम्स जताततै फैलिरहेको देखिन्छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘सम्पत्ति कतै मैलो–धोइलो छ कि भनेर हामीले हेर्ने हो, उहाँको वित्तीय परिचालनमा समस्या देखिएपछि अनुसन्धान थालिएको हो।’ सिभिल होम्सपछि तामाङले सिभिल बिजनेस कम्प्लेक्स खोले। त्यसपछि सिभिल स्टेट (सिटिसी मल), सिभिल आरएमसी हुँदै कम्पनी विस्तार हुने क्रम रोकिएको थिएन। ‘जतिबेला उनको सम्पत्तिमाथि विभागले छानबिन सुरू गर्‍यो, त्यसपछि उनका दिनदशा ओरालो लाग्दै गएको छ,’ विभाग स्रोतले भन्यो, ‘विभागले फाइल विस्तृत अनुसन्धानमा लगेपछि उहाँका व्यक्तिगत खाता र सम्पत्ति रोक्का भएका छन्।’तामाङलाई नेकपा एमालेले संविधान सभामा सभासद बनाएको थियो। एमालेका नेताहरूसँग नजिक भएका र उनको कारोबार देखेर केही नेताहरूकै सिफारिसमा उनी दोस्रो संविधानसभा सदस्यमा समानुपातिक सांसद भएको भन्नेहरू पनि छन्।

सरी डुबे इच्छाराज?

विभागका अनुसार तामाङले २०६३ सालदेखि नै सहकारीको निक्षेप ऋणको रूपमा चलाउन थालेका थिए। अरू कम्पनी स्थापना गर्दै त्यसका नाममा सहकारीबाट ऋण निकाल्थे।

ऋण तिर्दै, कारोबार विस्तार गर्दै गइरहेका तामाङको विगत पाँच वर्षयता भने कारोबार बिग्रेको हो। कारोबार बिग्रिँदै जाँदा उनी ऋण फिर्ता गर्नै नसक्ने अवस्थामा पुगेको उनका सहकर्मी बताउँछन्।

ऋणको दबाब बढ्दै गएपछि दुई वर्षअघि उनले सुन्धारामा रहेको ठूलो अचल सम्पत्ति बिक्री गरेका थिए। अपार्टमेन्टका रूपमा सुरू भएर होटलमा रूपान्तरण भएपछि उनले व्यापारी अजयराज सुमार्गीलाई बेचेका थिए। यो सम्पत्ति बेचेर पनि उनले ऋणको एकछेउ पनि तर्न सकेनन्।

तामाङका सहकर्मीका अनुसार उनको हौसिने बानी छ। ‘प्रोजेक्टको मूल्यांकन राम्रो नगरीकन लगानी बढाउनु पर्ने उहाँको बानी छ, उहाँले ध्यान नदिई एकपछि अर्को गर्दै १० फेजसम्म हाउजिङ विस्तार गर्दै जानुभयो, फटाफट बिक्री भएन, समयमा पैसा रिटर्न भएन,’ उनका ती सहकर्मीले भने।

तामाङलाई अफ्ठ्यारो परेको २०७२ सालको भुइँचालोले हो। बिक्रीका लागि तयारी हालतमा रहेको सिभिल ट्रेड सेन्टरमा बुकिङ धमाधम भइरहेको थियो।

भूकम्प आयो, सिभिल ट्रेड सेन्टर नराम्रोसँग चर्कियो। अग्रिम बुकिङ गरेका ग्राहकले धमाधम पैसा फिर्ता मागे। बिक्री बन्द भयो।

एकातिर अपार्टमेन्ट बिक्री बन्द, अर्कोतिर सहकारीको ऋण। उनले सिभिल ट्रेड सेन्टर बेचेर सहकारीको केही ऋण तिरेका थिए। त्यसको केही समयअघि उनले श्रीमतीको नाममा रहेको सिभिल बैंकको संस्थापक शेयर पनि बिक्री गरे।

कोभिड सुरू भएपछि उनलाई दोस्रो पटक संकट आइलाग्यो। फेरि हाउजिङ बिक्री हुन छोडेर आर्थिक समस्या पर्न थाल्यो। निर्माणाधीन उनका परियोजनामा पनि समस्या पर्न थाल्यो।

‘उहाँ समयमा घर बनाउनु हुन्न थियो, समयमा पनि नदिने र गुणस्तर पनि खस्किएपछि मानिसहरू बिच्किन थाले,’ तामाङका ती सहकर्मीले भने, ‘विभिन्न प्रोजेक्टमा अधकल्चो काम गर्ने, कुनै पनि नसक्ने। एउटा नसकिँदै अर्को, त्यो नसकिँदै अर्कोमा हात हाल्ने कारण पनि उहाँलाई समस्या परेको हो।’

तामाङका अर्का एक सहकर्मीका अनुसार सम्पत्ति नभएर पनि होइन, सम्पत्ति व्यवस्थापन र परिचालन गर्न नसकेर उनी समस्यामा परेका हुन्।

आर्थिक संकट टार्न उनले आफ्नै सहकारीबाट जसरी ऋण चलाउँथे त्यो सहकारी ऐनविपरीत पनि देखिएको विभागको भनाइ छ। चुक्तापुँजीको ९० प्रतिशतभन्दा बढी निक्षेप कर्जाको रूपमा निकालेको देखिएको विभागले बताएको छ।

‘यसरी कारोबार नगर्नु भनी सहकारी विभागले पटक-पटक भन्दा पनि उनले नमानेको देखिन्छ,’ विभाग स्रोतले भन्यो।

अर्को कुरा, उनको सहकारीमा अस्वाभाविक रूपमा निक्षेप बढेको देखिन्छ, जुन वित्तीय अनुशासनविपरीत रहेको विभागका अधिकारीहरूको दाबी छ।

‘चुक्ता पुँजीको शत प्रतिशत बढी निक्षेप बढाउन मिल्दैन, निक्षेपको सीमितता हुन्छ, तर सिभिल सहकारीमा चुक्तापुँजीको १०३ प्रतिशतसम्म निक्षेप बढेको देखिन्छ,’ एक अधिकारीले भने।

तामाङले आफ्नै कारोबार मिलाउन नसक्दा सहकर्मीहरूसँगै प्रहरी हिरासतमा पुगेको उनका निकटस्थ बताउँछन्।

‘यतिको कारोबार विस्तार गरेको मानिस ठगी गर्नुपर्ने अवस्थामा पुग्दैन,’ उनका ती सहकर्मी भन्छन्, ‘कारोबारमा आएको उतारचढावले गर्दा परिबन्धमा पर्नुभयो।’

तामाङले हालसम्म ११ सय वटा सिभिल होम र अपार्टमेन्ट फ्लाट बिक्री गरेको दाबी गरिने गरिएको छ। त्यसबापत् उनले करिब ११ अर्ब रुपैयाँ संकलन गरे पनि आफूहरूको पैसा नतिरेको बचतकर्ताको आरोप छ।

‘औसतमा एक करोडको दरले बिक्री गर्दा पनि ११ अर्ब रुपैयाँ संकलन भएको छ, त्यो पैसा उनले कहाँ राखे?,’ झन्डै एक करोड निक्षेप राखेका पीडित संघका सदस्य भट्टराईको आरोप छ।

के सजाय हुनसक्छ ?

इच्छाराजविरुद्ध मुलुकी अपराध संहिता अनुसारको ठगी मुद्दा र सहकारी ऐन अनुसारको कारबाही हुन सक्ने विभागका एक अधिकारी बताउँछन् ।

सहकारी ऐनको दफा १२२ मा तोकिएको भन्दा बढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रदान गरेमा कसूर ठहरिनेछ । समितिको सदस्य, व्यवस्थापक वा कर्मचारीले सहकारी संस्थाको सम्पत्ति, बचत वा शेयर रकम हिनामिना गरेमा पनि कसूर हुनसक्छ ।

साथै ऋण असुल हुन नसक्ने गरी समितिका कुनै सदस्य, नातेदार वा अन्य व्यक्ति वा कर्मचारीलाई ऋण दिई रकम हिनामिना गरेमा कसूर ठहरिने ऐनमा व्यवस्था छ । इच्छाराजमाथि सहकारी ऐन अनुसार कारबाही भएमा एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति