काठमाडौं, १९ असोज । युनिलिभर ‘रेड लेबल’ चिया प्रकरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले खाद्य ऐन अनुसार मुद्दा तयार गरेको छ । कार्यालयका खाद्य निरीक्षकलाई अनुसन्धान अधिकृत तोकेर सो विषयमा युनिलिभरविरुद्ध खाद्य ऐन अनुसार मुद्दा तयार पारेको हो । कार्यालयले मुद्दा प्रक्रिया सुरु गर्न आवश्यक अध्ययन तथा अनुसन्धान सम्पन्न गरेर हेटौंडा–३ बस्तिपुरमा अवस्थित युनिलिभर नेपाल लिमिटेडको प्रतिनिधिसँग बयान लिएको जनाएको छ । अनुसन्धान अधिकृतले युनिलिभरका प्रतिनिधिसँग बयान लिइ कानुनी परामर्शका लागि सरकारी वकिलसँग राय माग गरेको छ ।
सरकारी वकिलले आवश्यक सुझावसहित सो मुद्दाको विषयमा लिखित रुपमा राय प्रस्तुत गर्ने र ऐन अनुसार मुद्दालाई जिल्ला अदालत वा जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख सोमकान्त रिजालले बताए ।युनिलिभरको चिया प्रशोधन केन्द्रमा भारी परिमाणमा म्याद गुज्रिएको चियापत्ती फेला परेपछि गत भदौ १५ गते स्थानीय प्रशासनले शिल गरेको थियो ।
युनिलिभरले आम उपभोक्तालाई ठगी गर्नेगरी म्याद नाघेको चियापत्ती प्रशोधन गरी ‘रेड लेवल’ ब्राण्डका रुपमा बजारमा बिक्री गर्ने तयारीका साथ ३२ टन म्याद गुज्रिएको सीटीसी नाम उल्लेख भएको चियापत्ती भण्डार गरेर राखेको थियो ।अनुगमनको क्रममा रिप्याकेजिङ गर्न तयार रहेको ३५ केजी तौलका ९ सय २० बोरा (३२ टन २ सय केजी) र अन्य नाम उल्लेख नभएका चियापत्ती फेला पारिएको रिजालले बताए । उक्त सिटीसी चियाको प्यकेटमा उत्पादन मिति २०१९ उल्लेख छ भने उपभोग अवधि १८ महिना उल्लेख छ ।
गत आर्थिक वर्षमै चिया परीक्षण, प्रतिवेदन गोप्य राखियो
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटले गत आर्थिक वर्षको अन्त्य ताका युनिलिभरबाट प्रशोधित ‘रेड लेबल’ चिया को नमुना संकलन गरी परीक्षण गरेको थियो ।कार्यालयले वार्षिक स्वीकृत कार्यक्रममध्ये बजार अनुगमनका क्रममा नमुना संकलन गरी सो चियापत्ती परीक्षण गर्न विभाग पठाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटका सूचना अधिकारी नवराज श्रेष्ठले स्वीकार गर्छन् ।खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ बमोजिम सो कार्यालयमो कार्यक्षेत्र रहेको रसुवा, नुवाकोट र धादिङका बजार क्षेत्रमा अनुगमन गर्दा युनिलिभरबाट प्रशोधित सो चियाको नमुनामा शंका उत्पन्न भई खाद्य वस्तुलाई खाद्य नियमावली २०२७ को नियम १० बमोजिम अनुसूची २ फारम भरेर शिलबन्दी गरी नमुना संकलन गरिएको उनले बताए ।
संकलित नमुनालाई नियम ११ बमोजिम अनुसूची ४ फारम भरी विश्लेषणार्थ सार्वजनिक विश्लेषकसमक्ष पठाइएको उनको भनाइ छ । विश्लेषकले प्राप्त नमुना विश्लेषण गर्दा प्रतिकुल पाइएमा सो अनुसारको विवरण तयार पारी विश्लेषणको प्रतिवेदन नमुना संकलन गरिएको जिल्लाको प्रमुख जिल्ला अधिकारी, अनुसूची ५ बमोजिमको पत्र खाद्य निरीक्षण समक्ष पठाइको उनले बताए ।सो चियाको प्रतिकुल विश्लेषण प्रतिवेदनको प्रारम्भिक अनुसन्धानसमेत सम्पन्न गरी उद्योग अवस्थित जिल्लामा पनि पठाइएको उनले बताए । मुद्दाको कार्यक्षेत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको रहेकाले सो प्रतिवेदन पठाईएको उनको भनाइ छ ।प्रतिकुल नमुनालाई बिकी वितरण गर्ने वा उत्पादन गर्नेलाई अनुसन्धान गरी प्रतिवादीलाई जिल्ला अदालत÷जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेश गर्ने व्यवस्था रहेको उनले बताए ।
प्रतिक्रिया