नेपाल–भारत सीमा सुरक्षा बैठक दिल्लीमा बस्दै


काठमाडौं, १९ असोज । नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा आज बैठक बस्न लागेको हो ।नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न विवादले रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो ।बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।तर बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल नहुने भएको छ । बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीप) शैलेन्द्र खनाल नेतृत्वको टोली हिजो भारतको नयाँदिल्ली पुगेको छ । नेपालका तर्फबाट आईजीपी खनाल, सशस्त्र प्रहरी कार्य तथा सीमा विभाग प्रमुख पुष्पराज केसी, प्रशासन विभागका डीआईजी नारायणदत्त पौडेललगायत सहभागी रहेका छन् ।

भारतका तर्फबाट भारतीय सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रासहितको टोली सहभागी हुँदैछ । दुई देशले आलोपालो बैठक आयोजना गर्ने भनिए पनि नियमित बैठक बस्न सकेको छैन। यसअघि चौथो बैठक २०७६ मंसिर ४ र ५ गते पोखरामा बसेको थियो ।

पहिलो पटक २०६९ सालमा भारतमा बैठक बसेको थियो । दोस्रो बैठक २०७२ सालमा नेपालमा र तेस्रो बैठक २०७३ सालमा नयाँदिल्लीमा बसेको थियो । भारतले २०७६ कात्तिकमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

नेपालले लिम्पियाधुरासहित २०७७ साल जेठ ७ मा राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि सीमा सुरक्षा बैठकसहित कुटनीतिक वार्ता र छलफल रोकिएको थियो । पछिल्लो पटक भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकालीमा तुइनको लट्ठा खुस्काएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता भएका छन् । यसबारेमा जवाफ मागेर नेपालले भारतलाई पत्र पठाएको भए पनि जवाफ दिएको छैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति