काठमाडौं, १८ असोज । आज माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति ९ः४५ बजे मालेस्थित नेशनल फुटबल स्टेडियममा खेल सुरु हुनेछ ।यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो भने आजको खेलमा पनि श्रीलंकाविरुद्ध जीत हासिल गर्ने नेपालको लक्ष्य छ ।श्रीलंका भने उद्घाटन खेलमा बंगलादेशसंग १–० ले नै पराजित भएकाले नेपालविरुद्ध उनीहरु सकरात्मक नतिजा निकाल्नका लागि खेल्दैछन् । नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले आइतबार प्रिम्याच कन्फ्रेन्समा श्रीलंकाविरुद्धको खेल पहिलो र फाइनल जस्तै भएकाले श्रीलंकालाई सहज रुपमा नलिकन माल्दिभ्सविरुद्धको खेल बिर्सेर श्रीलंकाविरुद्ध खेल्नुपर्ने बताए ।श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण भएपनि कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएको र श्रीलंकाका खेलाडीहरुकोे आक्रामक खेलको फाइदा उठाउने मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताए ।नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने र ९० मिनेटसम्मै जितका लागि फाइट गर्ने बताएका छन् । विमल घर्ती मगरको गोलमा नेपालले श्रीलंकालाई पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु कपमा १–० ले हराएको थियो ।पाँच राष्ट्र सहभागी साफमा राउण्ड रोविन प्रणालीमा भइरहेकोले हरेक खेल महत्वपूर्ण रहेको छ ।
आज नेपाल र श्रीलंकाबीच साफ च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा
प्रतिक्रिया