काठमाडौं, १८ असोज । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् । राजदूत बेरी मन्त्री खड्कालाई भेट्न सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए ।उक्त अवसरमा मन्त्री खड्काले राजदूत बेरीलाई नेपालको विकासमा पहल र कोरोना भाइरसविरुद्ध सहयोग गरेकोमा अमेरिकी सरकार र जनतालाई धन्यवाद व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त अवसरमा द्विपक्षीय सम्बन्धका विषय र बहुपक्षीय संलग्नताका सम्बन्धमा समेत कुराकानी भएको थियो ।खड्का मन्त्री नियुक्त भएपछि पुगेका बेरीले सुरुआतको भेटवार्तामा नयाँ जिम्मेवारी सम्हालेकोमा बधाईसमेत दिएका थिए ।नेपालमा एमसीसी सम्झौतालाई लिएर प्रश्न उठेपछि केही समय अघिमात्र नेपाल सरकारले अमेरिकी सरकारमार्फत ११ विवादित विषयमा प्रश्न सोधेको थियो । जसको उत्तर अमेरिकाले नेपाललाई पठायो ।साथै, एमसीसी सम्झौता नेपालको संसद्बाट अनुमोदन गराएर कार्यान्वयन लाने सम्बन्धमा वासिङ्टनडीसीबाट एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपालको चार दिने भ्रमण गरेकी थिइन् । सुमारले नेपालमा भेटवार्ताका सम्बन्धमा एमसीसीको बोर्ड बैठकमासमेत जानकारी दिइसकेकी छन् ।
प्रतिक्रिया