कोशी टप्पुको मकुना हात्तीमृत भेटियो

 विराटनगर , १७ असोज। कोशी टप्पु वन्यजन्तु आरक्षमा बस्दै आएको मकुना नामको हात्ती मृत भेटिएको छ । स्थानीय प्रशासनले एक वर्षअघि मकुना हात्ती मार्ने तयारी गरेको थियो । आइतबार सुनसरीको कोशी गाउँपालिका–३ स्थित आरक्ष कार्यालय नजिकै उक्त हात्ती मृत भेटिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक वर्ष अघि हिंस्रक भएका कारण मार्ने योजना बनाए पनि चौतर्फी विरोध भएपछि प्रशासन पछि हटेको थियो । मकुनाको आक्रमणबाट आरक्ष आसपास १६ जनाको मृत्यु भइसकेको स्थानीयको भनाइ छ । गत पुसमा चितवन राष्ट्रिय निकुञ्जबाट आएका वन्यजन्तु चिकित्सक र प्रविधिक टोलीले मकुनालाई शान्त बनाउन डार्ट गरी उपचार गरेको थियो ।धान खान गएका बेला धानबालीमा लगाइएको करेन्ट लागेर हात्तीको मृत्यु भएको र आइतबार बिहान ५ बजेतिर मकुना मृत भेटिएको आरक्ष प्रमुख अशोक रामले बताए । शनिबार राति १ बजेसम्म आरक्षका कर्मचारीले मकुनाको निगरानी गरेको तर पानी परेका कारण हात्ती त्यसपछि हराएको प्रमुख रामले बताए । हात्तीको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति