प्रचण्डनिकट मानिने झापाका दुर्गा प्रसाई एमाले राजनीतिमा देखिए

काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिने झापाका दुर्गा प्रसाई एमाले राजनीतिमा देखिएका छन्। एमाले र माओवादी केन्द्रको एकताका बेला उनको घरमा बसेर प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले ‘वार्ता’ गरेका थिए।१० वर्षे सशस्त्र युद्धकै बेलादेखि प्रसाईं माओवादीमा सक्रिय थिए। सर्वोच्च अदालतले नेकपालाई पुरानो अवस्थामा फर्काइदिएपछि प्रसाईं प्रचण्डलाई छोडेर ओलीतिर लागेका हुन्।

बिएन्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रसाईं सर्वोच्चले पार्टीलाई पुरानो अवस्थामा फर्काएकै बखतदेखि ओलीसँग नजिक हुँदै आएका थिए।

प्रसाईं अहिले एमालेको विधान महाधिवेशनमा झापाबाट प्रतिनिधि छन्। तीन दिनसम्म चल्ने उक्त महाधिवेशनमा उनी ‘चर्चा’को केन्द्रमा छन्।
माओवादी र प्रचण्डलाई सहयोग गर्ने क्रममा आफू जेलसम्म परेको भन्दै प्रसाईं अहिले उनीसँग दु: खसो पोख्ने गरेका छन्।
कुनै बेला प्रसाईंसँग जोडेर प्रचण्डको आलोचना पनि हुने गरेको थियो।

‘म माओवादी पार्टीकै लागि जेलसम्म बसेको हुँ। प्रचण्ड र केपी शर्मा ओलीलाई वार्ता गराएर नेकपा एकीकरण गराउन भूमिका खेलेको हुँ,’ प्रसाईंले भने, ‘प्रचण्ड जनयुद्ध नलडेका नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलहरूको घेराबाहिर निस्किन सक्नुभएन।’

प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास थालिएको थियो।

एमाले र माओवादी मिलेर नेकपा बनेपछि तत्कालीन प्रधानमन्त्री ओलीले बिएण्डसीलाई सम्बन्धन प्रक्रिया अगाडि बढाउन खोजेका थिए।

पछिल्लो पटक पनि ओलीले सम्बन्धनको प्रक्रिया अगाडि बढाउँदा नपाएको प्रसाईंले बताए। त्यसपछि उनले प्रचण्डसँग भेटेर पनि कुराकानी गरेको तर उनले सुनुवाइ नगरेको बुझाइ उनको छ।

तर, प्रसाईंले प्रचण्डसँग असहमति राख्नुमा सम्बन्धनको कुरा मात्रै नभएको भन्दै धेरै कुरा विस्तारै बाहिर आउँदै जाने बताए।

एमालेमा आउँदा कुनै स्वार्थ नराखेको दाबी उनको छ। प्रसाईं यसअघि खुलेर एमाले पार्टीमा देखिएका भने थिएनन्।

‘म आफ्नो व्यवसायलाई समेत अघि लैजाँदै राजनीति गर्छु,’ उनले भने।

उनले मेचीमा प्रचण्डको पार्टी सकिएको पनि दाबी गरे। ‘म जिल्लास्तरीय नेता भए पनि केन्द्रीय नेताभन्दा ठूलो भूमिका मैले खेलेको थिएँ, हरेक कुरा मिलाएको थिएँ,’ उनले दाबी गरे, ‘अब प्रचण्डको पार्टी मेची अञ्चलमा सकिएको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति