एमाले विधान महाधिवेशन : पार्टीलाई भन्दा बढी ओली ब्राण्ड

काठमाडौं, १५ असोज । आजदेखि गोदावरीमा भइरहेको नेकपा एमालेको विधान महाधिवेशनस्थलको संरचनादेखि सामाग्रीसम्ममा पार्टीलाई भन्दा बढी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्राण्ड बनाइएको छ ।

विधान महाधिवेशनमा देखिएका दृश्यहरूले एमालेमा ओली नै हाबी देखिएका छन् । कार्यक्रमको हल बाहिर केही स्थानमा पार्टीका पूर्व महासचिव मदन भण्डारीले स्थान पाएका छन्। संस्थापक महासचिव पुष्पलाल श्रेष्ठदेखि प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीसम्म गायब छन् ।एमालेले महाधिवेशनको मुख्य मञ्चमा पार्टीले कार्यक्रमहरूमा मञ्चमै आफ्ना नेताहरूको तस्बिर राख्दै आएको थियो। विधान महाधिवेशनको मुख्य मञ्चमा पार्टीका पुराना नेताहरूको तस्बिर गायब पारिएको छ । भण्डारीको जनताको बहुदलीय जनवादको एकल स्वामित्वको दाबी गर्ने गरेको एमालेले उनकै अबमुल्यन गरेको देखिन्छ ।जनताको बहुदलीय जनबाद प्रतिपादन गर्ने भण्डारीको समेत अबमुल्यन गरेर कार्यक्रम स्थलको सजावट हेर्दा भण्डारीको स्थानमा ओलीवाद हाबी देखिएको छ ।

कार्यक्रम स्थल बाहिर होस् या भित्र ओलीलाई ब्रान्डिङ गर्ने प्रयास कतै छाडिएको छैन।कार्यक्रमको हल बाहिर विभिन्न स्थानमा ओलीको कट आउट राखिएको छ। कार्यक्रमको उद्घाटन सत्र पछि ओली गाथाले भरिएको भिडियो डकुमेन्ट्री प्रदर्शन भएको थियो। सो भिडियोलाई मुख्य प्रचार सामाग्री बनाउन महाधिवेशनमा सहभागी सबैको मोबाइलमा पठाउने कार्यक्रमका सञ्चालक प्रदीप ज्ञवालीले कार्यक्रम हलमै जानकारी गराएका थिए।कार्यक्रममा सहभागीहरूलाई दिने पानीको बोतलमा समेत ओलीकै ब्राण्ड बनाइएको छ । त्यतिमात्र होइन महाधिवेशन प्रतिनिधि बोक्ने गाडीमा समेत ओलीको फोटो झुन्ड्याईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति