नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति बैठक : अनुराग श्रीवास्तवले गरे भारतीय डेलिगेसनको नेतृत्व

काठमाडौं, १४ असोज । भारतीय विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने अधिकारी अनुराग श्रीवास्तवले आज राजधानीमा नेपाल–भारत संयुक्त परियोजना अनुगमन समितिको बैठकमा भाग लिएका छन् ।राष्ट्रिय पुननिर्माण प्राधिकारणद्वारा आयोजित समितिको तेस्रो बैठकमा भारतीय विदेश मन्त्रालयका सहसचिव समेत रहेका श्रीवास्तवले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।बैठकमा पुननिर्माण कार्यहरुको समीक्षा गरिएको जनाइएको छ । नेपालमा २०७२ सालमा भूकम्प गएपछि भारतले नेपालका भूकम्प प्रभावित जिल्लाहरुमा घर, विद्यालय र स्वास्थ्य भवन तथा सांस्कृतिक सम्पदा निर्माणमा सहयोग गरेको छ ।

भारतको सहयोगमा निर्मित पुननिर्माण परियोजनाको प्रगतिको सम्बन्धमा बिहीबार काठमाडौंमा बैठक भएको थियो । मेरियट होटलमा भएको उक्त संयुक्त बैठकमा नेपालको तर्फबाट राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारी र भारतीय पक्षबाट विदेश मन्त्रालयका नेपालसहित उत्तरी महाशाखा हेर्ने सहसचिव अनुराग श्रीवास्तवले आ–आफ्नो टोलीको नेतृत्व गरेका थिए । बैठकले भारतको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको बृहत समिक्षा गरेको नेपाल र भारतीय दुवै पक्षले जनाएको छ ।

उक्त बैठकपछि भारतीय पक्षले विज्ञप्ती निकाल्दै आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५० हजार निजी घरको पुनर्निर्माण भएकोमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेको जनाएको छ ।

बैठकमा दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेका छन् । उक्त समितिको बैठक दुवै मुलुकको सहमतिमा मिति तय गरेर अर्को पटक बस्ने सहमति भएको छ । बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवं निकायका प्रतिनिधि र भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको उपस्थिति थियो ।

भारतको सहयोगमा नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समिक्षा गर्न दुवै मुलुक मिलेर सन् २०१७ अगस्टमा उक्त जेपीएमसी संयन्त्र खडा गरिएको थियो । उक्त बैठक यसअघि २०७६ को फागुन २५ गते बसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति