काठमाडौँ, १२ असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उनले नेपालका २० प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइसकेको पनि जानकारी दिए । खड्काले ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि आफ्नो देशले जलवायु परिवर्तनको असर भने ठूलो भोगिरहेको बताए । नेपालले ६३ वर्षदेखि शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानमा निरन्तर योगदान दिएको स्मरण गर्दै सबैभन्दा धेरै शान्ति मिसनमा सेना पठाउनेमा नेपाल पनि एक रहेको बताए । यस्तै, परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वका ४५ लाख मानिसको कोभिड–१९ का कारण ज्यान गएको भन्दै दु ख व्यक्त गरे । उनले कोरोना महामारीको यो सङ्कटले संसारलाई नै पीडामा पारेको छ, विश्वव्यापी अर्थतन्त्रलाई ध्वस्त पारेको बताए । यस्तै, कोरोनाका कारण थप १५० करोड मानिस चरम गरिबीमा धकेलिएका पनि उनले बताएका छन् । कोरोना विरुद्धको खोपको असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरु समस्यामा परेका पनि परराष्ट्रमन्त्री खड्काको भनाइ छ । उनले सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्नेमा जोड दिए। मन्त्री खड्काले कोभिड१९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न राष्ट्रसङ्घले खेलेको भूमिकाको प्रशंसासमेत गरे ।
राष्ट्रसङ्घको महासभामा परराष्ट्रमन्त्रीको सम्बोधन –नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ
प्रतिक्रिया