काठमाडौं, ११ असोज । विराटनगरमा अवतरण हुन नसकेपछि काठमाण्डौ फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ ।झण्डै दुई घण्टासम्म आकाशमा घुमेपछि जहाजलाई सुरक्षित अवतरण गराइएको हो । जहाजको सामान्य अवतरण भएको र चालक दलका सदस्य तथा सबै यात्रुहरू सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ। बुद्ध एयरकाअनुसार टावरबाट ल्यान्डिङ गियर खुलेको र सुरक्षित तरिकाले अवतरण गर्न सक्ने सुनिश्चित गरिएपछि चालकले जहाज अवतरण गराएका थिए ।

जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य थिए ।बिहान ८ बजेर ३० मिनेटमा विराटनगरका लागि उडेको जहाज ल्याण्डिङ गियरमा समस्या भएपछि काठमाण्डौ फर्किएको थियो । काठमाण्डौको आकाशमै झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको हो ।
जहाजलाई प्राथमिकतामा राखेर सफलतापूर्वक अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।
एयर होस्टेसको आँखामा आँसु थियो
प्रताप लिम्बु
बिहान ८ः०५ बजे विराटनगरर्फ उडेका थियौं, तर अवतरण हुन सकेन । किन भएन भनेर प्रश्न गर्दा अलिकति समस्या छ भनियो ।
त्यहाँ क्याप्टेन साहेबले अवतरण गराउन ६/७ पटक नै प्रयास गर्नुभयो, त्यसपछि काठमाडौं फिर्ता गर्नुभयो । काठमाडौं आउन्जेल त मलाई केही जस्तो लागेको थिएन, ढुक्क नै थिएँ । राम्रै हुन्छ होला भन्ने भयो, काठमाडौं आएपछि पनि ८/९ पटकसम्म आकाशमा घुमाएको घुमायै गर्दा भने मनमा चिसो पस्यो ।
त्यसपछि विमानबाट जमिनमा हेर्दा नेपाली सेना, सुरक्षाकर्मी तयारी अवस्थामा देख्यौं । अब जिन्दगी यति नै रहने भयो, अब दुर्घटना हुन्छ भन्ने नै भयो । हाम्रो पाइलट एजी शेर्पा निकै अनुभवी हुनुहुन्थ्यो । जहाजमा केही जानकारी पनि दिइएन, हामीले ढोका खोल्दिनुस, हामी हाम फाल्छौं पनि भन्यौं ।
एयर होस्टेसहरुले केही हुँदैन भनेर ढाडस दिइरहनुभयो । हामी तपाईंहरुलाई बचाउन सक्दो कोशिस गर्छौं भन्नुभयो । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो ।
त्यसपछि अब अन्तिम पटक प्रयास गर्छौं भन्नुभयो । नभन्दै सुरक्षित अवतरण भयो । जहाजमा मानिसहरु रोइकराई गरिरहेका थिए । कतिपय त बेहोस नै भए होलान् । जति दह्रो मन भएपनि यस्तो हुन्छ । एयर होस्टेसको आँखामा आँसु थियो । तर, उहाँहरु हामीलाई केही हुँदैन भनेर सम्झाउँदै हुनुहुन्थ्यो ।
आश मारिसकेका थियौं
अनमोल प्रधान, यात्रु
जहाजभित्र रुवाबासी हुन थाल्यो । जति कन्ट्रोल गरे पनि त्यो रुवाबासीले गर्दा आँशु रोक्न सकिएन । हामीले आस मारिसकेका थियौं ।
आकाशमा घुमिरहेको विमानबाट रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए । हामीलाई त भगवानले मात्रै बचाएको जस्तो लाग्छ । भगवान पशुपतिनाथको कृपाले बाँच्यौं । सबैजना भित्र हात जोडेर बसिरहेका थियौं ।
प्रतिक्रिया