बैठकमै अध्यक्ष ओलीलाई घनश्यामले सोधे यस्तो प्रश्न

काठमाडौं, १० असोज । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले समाजवादमा जाने आधार र जनताको बहुदलीय जनवादको आधिकारिक परिभाषा हुनुपर्ने बताएका छन् ।

केन्द्रीय कमिटी बैठकमा आफूले राखेका फरक विचारबारे जानकारी दिँदै भुसालले समाजवादमा जाने आधार के हुन् भन्ने बारेमा अध्यक्ष केपी शर्मा ओलीको दस्तावेजमा प्रष्ट नआएकाले यसबारेमा आफूले ध्यानाकर्षण गराएको बताए ।पत्रकारसँग कुरा गर्दै भुसालले भने, ‘दस्तावेजमा धेरै राम्रा र आवश्यक कुराहरू आएका छन् तर केही आधारभूत कुराहरू नपुगेका छन् भन्ने मेरो भनाइ हो ।

कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको छ,यसमा हाम्रा के कति कमजोरी रहे त्यसबारेमा दुनियाका सामु नलुकाइ भन्नुपर्छ । त्यस्तै समाजवादको बाटो के हो भन्ने पनि प्रष्ट हुनुपर्छ ।’भुसालले एमालेले अवलम्बन गरिरहेको जनताको बहुदलीय जनवाद दृष्टिविहीनले हात्ती छामेजस्तो भएको भन्दै यसको ठोस र आधिकारिक परिभाषा पार्टीले गर्नुपर्ने आफ्नो धारणा रहेको बताए ।

उनका प्रश्न

एकांगी प्रतिवेदन

उपमहासचिव भुसालले राजनीतिक प्रतिवेदन एकांगी रुपमा आएको उल्लेख गरेका छन् । ‘हामीले सानोतिनो धक्का खाएका छैनौं, ठूलो धक्का खाएका छौं । पार्टी एकतादेखि विभाजनसम्म उल्लेख गरिएको प्रतिवेदन एकांगी छ,’ भुसालको भनाइ छ ।

पार्टी विभाजन हुनुमा सबैको कमजोरी रहेको र बढी जिम्मेवार अध्यक्ष रहेको भुसालको भनाइ थियो । तर राजनीतिक प्रतिवेदनमा कमजोरीको पाटो छुटेको उनले बताए । ‘हाम्रै के कमजोरी भए भन्ने यो रिपोर्टमा भनेका छैनौं । जिम्मेवार पार्टीले आफ्नो कमीकमजोरी थिएन भन्ने एकांकी भएर चल्दैन । कमजोरी भएको छ । हामी सबै कमजोरीमा जिम्मेवार छौं र अध्यक्ष बढी जिम्मेवार हुनुहुन्छ,’ भुसालले भने ।

ठोस कार्यक्रम आवश्यक

एमालेको नवौं महाधिवेशनले नयाँ कार्यदिशा तय गरे पनि ठोस कार्यक्रम बन्न नसकेको उनको भनाइ छ । ‘२०६२/६३ को क्रान्तिपछि नवौं महाधिवेशनबाट नयाँ कार्यदिशा तय गर्‍यौं । त्यो कार्यदिशा अनुसार ठोस कार्यक्रम पार्टीले कहिल्यै पनि बनाएन,’ भुसालले भने ।

ठोस कार्यक्रम नबन्दा पार्टीले लिएको नयाँ कार्यदिशा प्रष्ट हुन नसकेको उनको भनाइ छ । ‘के गर्दा सफल भइएन हो, के गर्दा असफल भइएन हो । केही मानक भएन,’ भुसालको तर्क छ । ठोस कार्यक्रम बनाएर मात्रै एमाले अगाडि बढ्ने उनले बताए ।

जबजको सैद्धान्तिक व्याख्या

केन्द्रीय कमिटी बैठकमा फरक प्रस्ताव राख्दै भुसालले जनताको बहुदलीय जनवाद (जबज) जप्ने मात्रै भएको बताए । ‘जसले जप्छ, ऊ पुरस्कृत हुने र जसले लागू गर्छ त्यो चाहिं किनारा हुने अवस्था आयो,’ भुसालले भने ।

जबजलाई सिद्धान्त भने पनि त्यसको परिभाषा हुन नसक्दा यस्तो समस्या आएको उनको तर्क छ । ‘जबज भनेकै के हो ? भन्ने सैद्धान्तिक परिभाषा भएको छैन । जबज सिद्धान्त त भनियो । तर सिद्धान्तको परिभाषा अहिलेसम्म गरिएको छैन,’ भुसालको भनाइ छ ।

यी तीन प्रस्ताव एमाले निर्माणको आधारभूत कुरा भएको उनको दाबी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति