चौँथो संस्करणको इपिएल टी–ट्वान्टी क्रिकेटमा चितवनले विराटनगरलाई पराजित

काठमाडौँ, १० असोज । चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले विराटनगरलाई दुई विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले चितवनलाई जीतका लागि १५२ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा चितवनले २० ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । चितवनको जीतमा राजेश पुलामीले अविजित ४३ रनको योगदान दिए । भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ तथा इसान पाण्डेले १० रन जोडे । त्यस्तै कप्तान सोमपाल कामी नौ, सेकुगे प्रसन्न तीन तथा कमलसिंह ऐरी र हमद शाहजाद एक रनमा पेभेलियन फर्किए ।


बलिङतर्फ विराटनगरका सिकन्दर राजा र करण केसीले दुई/दुई विकेट लिए भने प्रतिश जिसी, रायन पठान र अनिल खरेलले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल बनाएको थियो । विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४७ बलमा सात छक्का र दुई चौका प्रहार गरे ।


यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए । विक्रम भुसालले सात, रायन पाठनले चार, चन्द्रपाउल हेमराजले दुई तथा कप्तान करण केसीले एक रन जोडे । सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन् । बलिङतर्फ चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले दुई/दुई विकेट लिए । जीतसँगै चितवनले दुई अङ्क जोडेको छ । विराटनगरले सोमबार काठमाडौँ किंग्स इलेभेनसँग खेल्ने छ भने सोमबार नै चितवनले भैरहवा ग्ल्याडियटर्ससँग खेल्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति