परराष्ट्रमन्त्री खड्का “साइडलाइन” भेटवार्तामा व्यस्त

काठमाडौँ, ९ असोज । संयुक्त राष्ट्रसंघ (यूएन) को ७६ औं महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री नारायण खड्का साइडलाइन भेटवार्तामा व्यस्त छन् ।

परराष्ट्रमन्त्री खड्काले शुक्रबार यूएनको ‘पिस अपरेशन विभाग’ का उपमहासचिव जिन–पियरे लाक्वा र कुवेतका परराष्ट्रमन्त्री शेख अहमद नासिर अल–मोहमद अलसवाहसँग भेटवार्ता गरे ।मन्त्री खड्काले यूएनको शान्ति सेनातर्फ यूएन मुख्यालय र स्थलगत रुपमा नेपालको उच्च तहमा सहभागिता बढाउन आग्रह गरेका छन् ।

साइडलाइन भेटवार्ताको क्रममा उनले लाक्वालाई शान्ति मिसनमा नेपाली सुरक्षा संख्यालाई बढाउन पनि आग्रह गरेका थिए ।न्यूयोर्कस्थित यूएनका लागि नेपालको स्थायी नियोगद्वारा जारी विज्ञप्तिअनुसार शुक्रबार मन्त्री खड्काले उक्त अवसरमा शान्ति सैनिक पठाउने सम्बन्धमा नेपाल र यूएनले सहकार्य गरेर अहिलेको अवस्थाभन्दा अझै बलियो बनाउँदै लानुपर्ने उल्लेख गरे ।विश्वमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने सूचीमा बंगलादेशपछि दोस्रो नम्बरमा नेपाल छ ।

नेपालले हरेक वर्ष करिब १० हजार शान्ति सैनिक पठाउँदै आएको छ । शान्ति मिसनमा नेपालले उत्कृष्ट काम गरे पनि बलियो कूटनीतिक लबिङ र पहुँचका कारण उच्च तहका पदहरुमा नेपाली सुरक्षा अधिकारीहरु पुग्न सकेका छैनन् । मन्त्री खड्काले नेपाली सुरक्षा अधिकारीहरुलाई पनि उच्च तहमा स्थान दिन पहल गरेका हुन् ।अर्को साइडलाइन वार्तामा खड्काले कुवेतका परराष्ट्रमन्त्री अलसवाहसँग कुराकानी गरे ।

उक्त भेटमा दुबै मन्त्रीहरुले दुई मुलुकका साझा चासोबारे कुराकानी भएको विज्ञप्तिमा उल्लेख छ । वैदेशिक कामदारको सहयोगबाट व्यापार, पर्यटन र लगानीको भूमिका खेल्ने विषयमा पनि कुराकानी भएको थियो । दुबै मन्त्रीहरुले बाँकी रहेका सम्झौतालाई अघि बढाउनुको साथै नजिक रहेर उच्चस्तरीय भ्रमणको आदान–प्रदानसहित सहकार्य र समन्वयन गरेर काम गर्ने विषयमा सहमति भएको छ । मन्त्री खड्काले सोमबार नेपालको तर्फबाट ७६ औं महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति