ओलीले तानाशाही प्रवृत्ति देखाएकोले विद्रोह गर्न परेको हो – अध्यक्ष नेपाल

काठमाडौं, ९ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् । हेटौंडामा शनिबार आयोजित मकवानपुर जिल्ला भेलालाई सम्बोधन गर्दै उनले पाँच दलको गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने बताए ।‘यो गठबन्धन दीगो रुपमा अघि बढ्छ,’उनले भने,‘सरकारले पूर्णता पाएपछि हामी पाँच दलको गठबन्धलाई अघि बढाउनेछौं । त्यो गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्छ । हामीले अब जनताका लागि काम गर्छौं ।’ उनले कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एस) र जनमोर्चा सम्मिलित गठबन्धन वडा तहसम्म समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले एमाले अध्यक्ष केपी ओली तानाशाह, स्वेच्छाचारी, अहंकार र दम्भले भरिएको आरोप लगाए । उनले ओलीले तानाशाही प्रवृत्ति देखाएकोले विद्रोह गर्न परेको भन्दै आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोजेर पनि नभेटिने दाबी गरे । ‘हामीले एमालेभित्र रहँदा उहाँको कमजोरी र गलत कार्यविरुद्ध पटक-पटक आवाज उठायौं तर आलोचना गर्नेलाई सिध्याउने नीति ओलीले लिए,’ उनले भने,‘आलोचना गरेका कारण हामीलाई सिध्याउन कारबाही गरेर पार्टीमा एकलौटी रुपमा अघि बढ्ने नीति लिइयो हामीले त्यसैले विद्रोह गरेका हौं’, उनले भने ।नेता नेपालले सुदूरपश्चिम, कर्णाली र प्रदेश २ मा एमालेभन्दा आफ्नो पार्टी अगाडि रहेको भन्दै वाग्मती र प्रदेश १ मा छिट्टै गठबन्धनको सरकार बन्ने बताए । ‘केही दिनभित्रै गठबन्धनको सरकार वाग्मती र प्रदेश १ मा बन्नेछ,’ उनले भने,‘यो सरकारले जनताको लागि काम गर्नेछ । हामीले जनताका लागि काम गर्न भनेर नै नयाँ पार्टी खोलेका हौं ।’ भेलालाई नेकपा (एस) स्थायी कमिटी सदस्य विरोध खतिवडा र जिल्ला अध्यक्ष श्रीधर पोखरेललगायतले सम्बोधन गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति