काठमाडौं, ६ असोज । लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नै सवारीबाट दिन नपाइने भएको छ । यातायात व्यवस्था विभागले साउनबाट लागु हुने गरी २०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा आफ्नो सवारीबाटै प्रयोगात्मक परीक्षा दिन सकिने व्यवस्था थियो ।विभागले गत भदौ ८ गते कार्यविधि संशोधन गरेर सो व्यवस्था हटाएको छ । अब परीक्षार्थीले ट्रायल सेन्टरमा निजी कम्पनीले राखेका थोत्रा सवारी चलाउनुपर्ने छ ।
ती कम्पनीले तोकेको महँगो शुल्क पनि यथावत रहने भएको हो । विभागले नयाँ कार्यविधि जारी गरेपनि लाइसेन्स कार्यालयहरुले पुरानो आवेदकहरुलाई पुरानै कार्यविधिअनुसार परीक्षा लिइरहेका छन् । नयाँ आवेदकहरुको हकमा भने ७० अंक ल्याए पास हुने नयाँ व्यवस्था लागु गर्ने तयारी छ ।आफ्नै सवारी लैजाने सकिने कार्यविधि आएपछि त्यसबापत पैसा असुलिरहेका कम्पनीहरुले संशोधन गर्न दबाव दिएका थिए । शुरुमा संशोधन गर्न नचाहेको यातायात व्यवस्था विभागले ‘लाइसेन्स कार्यालयहरुबाट पनि ट्रायलमा परीक्षार्थीको सवारीसाधन प्रयोग उपयुक्त नहुने सुझाव आएको’ नियम परिवर्तन गरेको हो ।विभागका एक अधिकारीले चर्को दबावबाट नियम संशोधन भएको स्वीकार गरे । उनले भने, ‘व्यवसायीहरुले अनेक तर्क गरेर आफ्नो कुरा माथि पार्नुभयो ।’
अहिले ट्रायल सेन्टरहरुले एक परीक्षार्थीबाट सवारीको किसिमअनुसार २०० देखि ५०० रुपैयाँसम्म असुलिरहेका छन् । लाइसेन्स कार्यालयहरुले आफूले ट्रायल लिने सवारीको व्यवस्था नगरी ट्रायल सेन्टरमा निजी कम्पनीहरुलाई छाडिदिएका छन्, त्यो पनि बिना प्रतिस्पर्धा ।
विभागले ‘सच्चाएको’ निर्देशिकामा परीक्षार्थीले ट्रायलमा प्रयोग गर्ने आफ्नो सवारीको स्तर पनि तोकेको थियो । मोटरसाइकल र स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२०० मिलिमिटरको ह्विल बेस भएको, म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्ने भनिएको थियो ।
त्यस्तै, कार र जिपको हकमा कम्तीमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३०० मिलिमिटर ह्विल बेस भएको, लम्बाइ, चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बिमा अद्यावधिक भएको हुनुपर्ने व्यवस्था थियो ।काररजिपको इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्ने, झ्याल, ढोका, लकलगायत प्रणाली ठीक हुनुपर्ने, ट्रायलको क्रममा ‘रियर भ्यू’ क्यामेरा छोप्नुपर्ने भनिएको थियो । अब यही व्यवस्था परीक्षार्थीको सवारीको सट्टा ट्रायल सेन्टरमा हुने सवारीको हकमा मात्रै लागु हुनेछ ।
तर, निजी कम्पनीहरुले पहिलाकै थोत्रा सवारीले काम चलाइरहेका छन् ।विभागले निर्देशिकामा अन्य संशोधन पनि गरेको छ । लिखित परीक्षामा अब ४र४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । यसअघि ५/५ अंकको २० प्रश्न सोध्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । यसअघि ७० अंक अनिवार्य गरिएको थियो । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।
प्रतिक्रिया