३५ अर्ब बराबर नयाँ नोट सटही गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं, ४ असोज । दशैंको अवसरमा नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । आजबाट सर्वसाधारणले नोट साट्न पाउनेछन् ।

राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको साथै केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । आजदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।

राष्ट्र बैंकले सर्वसाधरणका लागि ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेकोमा १२ देखि १५ अर्ब रुपैयाँ साना दरका नोटमा साटिने साथै त्यसबाहेक अन्य खर्च समेत असोज र कात्तिकमा धेरै हुने भएकाले ५ सय र १ हजार दरका नोटहरु पनि बजारमा ठूलै मात्रामा उपलब्ध गराउने नेपालले बताए ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति