काठमाडौं, १ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छाडेर नेकपा एमालेतिर लागेका १० जना नेताको अपमान नगर्न आफूनिकट पत्रकारहरुलाई आग्रह गरेका छन्। पार्टी प्रचार विभाग र समाजवादी प्रेस संगठनका पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष नेपालले छाडेर जानेहरूलाई सम्झिएर अब केही नहुने पनि बताए। नयाँ पार्टी गठनपछि संगठन निर्माण र विस्तारलाई प्राथमिकता दिइरहेका अध्यक्ष नेपालले निकट पत्रकारहरुलाई पनि संगठित गरिरहेका छन्।
जगन्नाथ खतिवडालाई प्रचार विभाग प्रमुख बनाएसँगै आफूनिकट पत्रकार संगठित गर्ने अभियान नेपालले थालेका हुन्।प्रेस चौतारी छाडेर समाजवादीतिर लागेका विश्वमणि सुवेदीसहितको संयोजनमा भएको उक्त छलफलका क्रममा नेपालले आफूलाई राजनीतिक यात्रामा सीपी मैनालीसहित कयौँ नेताले छाडेको बताउँदै १० भाइको श्रृखंला पनि त्यसकै निरन्तरता भएको उल्लेख गरे। छलफलका क्रममा उनलाई पत्रकारहरुले पार्टी विभाजनको निर्णायक समयमा छाडेर गएका १० जना स्थायी कमिटी सदस्यहरूबारे जिज्ञासा राखेका थिए। त्यसक्रममा उनले आफूलाई धोका दिएर जानेहरूलाई सम्झिएर बसिरहँदा फाइदा नहुने प्रतिक्रिया दिएका छन्।
छोडेर जाने गइसके। अब उनीहरुलाई सम्झिएर के हुन्छ र ? राजनीतिक यात्राका क्रममा कयौँ साथीहरुसँग यात्रा छुटेको छ, उनले भने, पछिल्लो पटक छाडेर जानेहरू हामीसँगै आइदिए त हुने थियो। उनले छलफलका क्रममा छाडेर गएका १० स्थायी कमिटी सदस्यहरुलाई अपमान हुने गरी कुनै समाचार नलेख्न पनि आग्रह गरेका छन्। छाडेर त गइसक्नु भएको छ। अब उहाँहरुको मन दुखाउने काम तपाईंहरुबाट पनि नहोस्। उहाँहरु कसैलाई पनि अपमान हुने गरी काम नगरौँ, नेपालको भनाइ उद्धृत गर्दै ती पत्रकारले भने, तपाईंहरुले पनि अरुबाट त्यस्तो काम हुन दिनु भएन। अनेक नाम र उपमा दिएर गरिने गालीसहितका गतिविधि रोक्नुस्, त्यस्ता गतिविधि उचित होइनन्।
एमसीसी बिगार्ने तीन नेता
अध्यक्ष नेपालले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता बिगार्ने काम एमालेकै तीन नेताले गरेको आरोप पनि लगाएका छन्।
नेपालले संशोधन नगरी एमसीसी पास गर्न नहुने अडान लिए। कुनै पनि सुरक्षा स्वार्थसँग नगाँसिएको प्रमाणित नहुन्जेल आफूहरु एमसीसीको विपक्षमा उभिने मत पनि उनले पत्रकारहरुसँग राखेका छन्। एमसीसी परियोजना सम्झौता एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले सचिव प्रदीप ज्ञवाली र पूर्व अर्थमन्त्री एवम् अमेरिकामा नेपाली राजदूत डा. युवराज खतिवडाका कारण बिग्रिएको पनि आरोप लगाए। तर उनीहरु तीन नेताले एमसीसीमा के गडबडी गरे भन्ने उनले खुलाएनन्। अहिलेकै अवस्थामा एमसीसी पास गर्न सकिँदैन। सुरक्षा स्वार्थसँग नजोडिएको पुष्टि नभएसम्म पास हुन सक्दैन, उनले सातवटा बुँदामा आफ्ना कुरा राख्दै भने, तर एमसीसी बिगार्ने काम ओली, ज्ञवाली र खतिवडाले गरेका हुन्। उनीहरुले किन र कसरी बिगारे ? यो खोज्ने काम तपाईं पत्रकारहरुको हो। खोजी पत्रकारिता गरेर लेख्नुस्। एमसीसीका नाममा ओलीसहित तीनजनाले अनेक भित्री सम्झौता गरेको आरोप पनि नेपालले लगाएका छन्। यी तीनजनाले कहाँ के के सम्झौता गरेका छन्र तपाईँहरुका लागि यो खोजीको विषय हो उनले भने।
अध्यक्ष नेपालले ज्ञवालीमाथि एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गत नै रहेको बुझेर पनि अघि बढाएको अर्थमा यस्तो आरोप लगाएका हुन्। ज्ञवालीको अमेरिका भ्रमणका क्रममा समकक्षी माइक पोम्पओसँगको भेटवार्ता हुँदा अमेरिकी रक्षा नीति इन्डो प्यासिफिक स्ट्राटेजीु र एमसीसीबारे कुरा भएको थियो।त्यसबेला खुला, स्वतन्त्र र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रमा नेपालको भूमिकाबारे छलफल भएको त्यसबेला अमेरिकी विदेश मन्त्रालयका सह–प्रवक्ता रोवर्ट पालाडिनोले बताएका थिए। तत्कालीन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सन् २०१७ मा सम्झौता गरेको यो एमसीसी संसदबाट पारित गर्ने व्यवस्था खतिवडाले बनाएर आएको आरोप लाग्ने गरेको छ। एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने त्यही प्रावधानका कारण अमेरिका र नेपालबीच विवाद चल्दै आएको छ।
अर्कातिर एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा एमसीसीलाई संसदबाट पास गराउने कसरत गरेका थिए। तर एमसीसीलाई संसदबाट पारित गराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष नेपालले नै नदिएको आरोप ओलीले लगाउँदै आएका छन्। अध्यक्ष नेपालले शुक्रबार पनि पार्टी कार्यालय उद्घाटनका क्रममा सत्तारुढ दलको गठबन्धन फुटाउन एमसीसीको बखेडा झिकिएको आरोप लगाएका छन्। अध्यक्ष नेपालले एमसीसी परियोजना यथास्थितिमा पारित गर्ने पक्षमा नभएको प्रष्ट पारेका छन्। ‘एमसीसीका लागि कुनै पनि,सेक्युरिटी अम्ब्रेलाुमा बस्ने शर्त मान्दैनौँ, नेपालले थपे, एमसीसी अघि बढाउँदा कुनै सेक्युरिटी अम्ब्रेलामा बस्नुपर्ने शर्त रहेछ भने हामीलाई मान्य हुँदैन। नेपालमा एमसीसीलाई इन्डो प्यासिफिक सैन्य रणनीति अन्तर्गत रहेको चर्चा भइरहेका बेला उनले आलोचना गरेका हुन्। एमसीसीका लागि विगतका मन्त्रीहरुले सीमा नाघेर नहुने ठाउँमा हस्ताक्षर गराएको भन्दै नेपालले आलोचना गरेका छन्। एमसीसीलाई लिएर गठबन्धन भत्काउने खेलहरु भइरहेका छन्, उनले भने। अध्यक्ष नेपालले एमसीसी अस्त्र बनेर गठबन्धनविरुद्ध आएको कुरा घुमाउरो भाषामा अभिव्यक्त गरेका छन्।
एमसीसीमा बौद्धिक सम्पत्तिमा नेपालको अधिकार, हाइटेन्सन लाइन बन्ने जग्गा नेपालको स्वामित्वमा रहने, एमसीसी परियोजनाको लेखा परीक्षणबारे विवाद छ। नेपाल यी विषय संशोधन गर्न राखेको सर्तलाई अमेरिकाले नकारिदिएको छ। यही कारण माओवादी केन्द्र र समाजवादी एमसीसी पास गर्ने पक्षमा छैनन्।
कसैसँग मिल्दैनौँ
अध्यक्ष नेपालले पत्रकारसँगको अन्तरक्रियाका क्रममा अहिले कुनै दलसँग एकता नहुने बताएका छन्। उनले एमसीसीका कारण सत्तारुढ गठबन्धनमा टकराव आएको पनि बताएका छन्। अहिले एमाले र कांग्रेस मिलेर एमसीसीलाई पास गर्ने हल्ला रहेछ। त्यो केबल मिथ्या हो। एमसीसीका कारण सत्ता गठबन्धनमा टकराव देखिएको होु, उनले भने, तर यो गठबन्धन आगामी चुनावसम्म पनि कायम हुन्छ। एमाले र कांग्रेस फेरि मिल्ने कुरा अफवाह मात्रै हो। उनले आगामी चुनावसम्म कुनै दलसँग एकता नगर्ने पनि बताएका छन्। आउँदो चुनावमासम्म एमाले र कांग्रेससँग मिल्ने कुरा हल्ला मात्रै हो। त्यो चुनावसम्म गठबन्धन नै मिलेर जान्छौँ। पार्टी एकता कोहीसँग हुँदैनु, उनले भने, पछिल्लो समय दर्ता भएका साना दलले पनि मिल्न खोजेका छन्। तर ती पार्टीसँग पनि हामी तत्काल एकता गर्दैनौँ।
प्रतिक्रिया