परियोजना प्रमुखसँग स्पष्टीकरण

काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि उत्पादन वृद्धि गर्न नसकेको गुनासो व्यक्त गरिएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य राजबहादुर बुढाक्षेत्रीले लगानीअनुसार प्रतिफल नआएकाले परियोजना प्रमुखसँग सरकारले स्पष्टीकरण माग्‍नुपर्ने बताएका छन् ।


“परियोजना प्रमुख हुन मरिहत्ते गर्ने, तर परिणाम नदिने परियोजना प्रमुखसँग स्पष्टीकरण नसोधेर के गर्ने ?”, उनले समितिका सभापति पूर्णकुमारी सुवेदीसँग प्रतिप्रश्‍न गरे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०७३ सालदेखि सुरु गरिएको हो । परियोजना सुरु भएदेखि कृषिको आयातमा कमी आएको छैन । आर्थिक वर्ष २०७७/०७८ मा सङ्घीय र प्रदेश सरकारको रु आठ अर्ब २२ करोड विनियोजन गरिएको थियो ।


विनियोजित रकम सङ्घीय र प्रदेश सरकारको कूल बजेटको छ प्रतिशत हो । दुवै सरकारले आव २०७७/०७८ मा कृषि क्षेत्रका लागि झण्डै रु एक खर्ब विनियोजन गरेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अवस्था र प्रगतिका बारेमा सरोकारवालसँग आयोजित साक्षात्कार कार्यक्रममा समितिका सदस्य शक्ति बस्नेतले परियोजना प्रमुखलाई कामको लक्ष्य र परिणामप्रति जवाफदेही नबनाएसम्म कृषि क्षेत्रबाट उत्पादनमा परिणाम नदेखिने बताएका छन् ।


परियोजना सञ्‍चालन भएको वि.सं. २०८३ असारमा १० वर्ष पुग्छ । वि.सं. २०७७ जिल्लामा परियोजना सञ्‍चालन भएका छन् । मुलुकका ७७ जिल्लामा पकेट १५ हजार, ब्लक एक हजार ५००, जोन ३०० र सुपरजोन २१ गरी कूल १६ हजार ८२१ समूहमार्फत कृषि उत्पादनमा सरकारको लगानी रहेको छ ।


भन्सार विभागका अनुसार चालू आवको पहिलो छ महिनामा भारतबाट ३० करोड र अमेरिकाबाट सात लाख ३३ हजार किलो चामल नेपाल भित्रिएको छ । त्यस्तै ३३ करोड किलो मकै भारतबाट भित्रिँदा २४-२४ लाख किलो दक्षिण अमेरिकी देश ब्राजिल, अर्जेन्टिना र तीन लाख ५० हजार किलो दक्षिण अफ्रिकाबाट आयात गरिएको छ ।


आ.व. २०७८/०७९ का लागि प्रस्तुत बजेटमा कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण मार्फत् आगामी पाँच वर्षभित्र कृषिको दिगो विकास गरी कृषिमा आत्मनिर्भर बन्‍ने योजना अघि सार्दै आए पनि बाँझो जमिनको उपयोग र भूमिहीन सुकुम्बासीलाई जमिन दिने विषय गौण रहेका छन् । नेपालमा भूमिहीन तथा साना किसानको सङ्ख्या ४० लाख रहेको अनुमान गरिएको छ ।


कृषि तथा पशुपक्षी विकास मन्त्रालयले करारखेती गर्न चाहानेलाई भने जति जमिन उपलब्ध गराउन सकेको छैन । खेतीयोग्य जमीनको खण्डीकरण रोक्न नसक्नु, बाँझो र बगर जमिनलाई उपयोगमा ल्याउन नसक्नाले कृषिमा आयात चुलिँदै गएको छ । राज्यले कृषि मजदूर, भूमिहीन र सिमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानलाई जमिन उपलब्ध गराउन सकेको छैन । छैठौँ कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ ।


गणनामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेशामा आत्मानिर्भर छन् भने ४२ प्रतिशत कृषकले कृषि ऋण पाउन सकेका छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति